संरक्षण क्षेत्रभित्रका बासिन्दालाई कम्तिमा सयकित्ता प्रमोटर शेयर निःशुल्क दिन केसिएएमसीको पत्र

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ४ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्(केसिएएमसी)ले संरक्षण क्षेत्रभित्रका प्रत्येक धरधुरीलाई कम्तिमा एकसय कित्ता प्रोमोटर शेयर निःशुल्क रुपमा उपलब्ध गराउन संरक्षण क्षेत्रभित्र सञ्चालित जलविद्युत परियोजनालाई पत्र लेखेको छ ।
परिषद् अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले संरक्षण क्षेत्रभित्रका ९ वटा जलविद्युत परियोजनालाई पत्र लेख्दै संरक्षण क्षेत्रभित्र सहमति उपलब्ध गरिएका जलविद्युत परियोजनाहरुले संरक्षण क्षेत्र भित्रका प्रत्येक घरधुरीलाई कम्तिलाई एकसय कित्ता प्रमोटर शेयर उपलब्ध गराउनुपर्ने भन्नु भएको छ । उहाँले लेखेको पत्रमा शेयर मूल्य वापत जम्मा हुने रकममध्ये ५० प्रतिशत शेयर मूल्य जलविद्युत परियोजनाको सामाजिक उत्तर दायित्वकको रकमबाट बहन गर्नुपर्ने र बाँकी ५० प्रतिशत रकम सम्वन्धित जलविद्युत परियोजनाले व्यहोर्नुपर्ने माग गरिएको छ । यसको अर्थ संरक्षण क्षेत्र भित्रका सबै घरधुरीलाई संरक्षण क्षेत्रभित्र सहमति प्राप्त सम्वन्धित जलविद्युत परियोजनाले कम्तिमा एकसय कित्ता प्रमोटर शेयर निःशुल्क रुपमा उपलब्ध गराउनुपर्ने संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले माग गरेको छ ।
परिषद्ले स्नो रिर्भस लिमिटेड,हिल्टन हाईड्रो ईनर्जी लिमिटेड,रेमिट हाईड्रो लिमिटेड,रिर्भस साईड हाईड्रो ईनर्जी लिमिटेड,तमोर इनर्जी प्रालि,क्रिष्टल पावर डेभलपमेन्ट प्रालि,सिम्बुवा रेमिट हाईड्रो लिमिटेड,नेपाल हाईड्रो भेञ्चर प्रालि र युनियन हाईड्रोपावर लिमिटेडलाई प्रोमोटर शेयर निःशुल्क रुपमा उपलब्ध गराउन पत्र लेखेको छ । परिषद्ले स्नो रिर्भस लिमिटेड,हिल्टन हाईड्रो ईनर्जी लिमिटेड बाहेक उल्लेखित बाँकी ७ वटा जलविद्युत परियोजनालाई बेग्लै पत्र लेख्दै फक्ताङलुङ गाउँपालिकाको वडा नं ५ तापेथोक र वडा नं ६ लेलेप जोड्ने रानीपुलस्थित तमोर नदीमा तत्काल बेलिब्रिज निर्माण गर्न आग्रह समेत गरेको छ । त्यहाँ यसअघि रेमिट हाईड्रोले निर्माण गरेको बेलिब्रिज गत साउन ६ गतेको बाढीले बगाएपछि अहिले फक्ताङलुङ गाउँपालिकाको वडा नं ५ तापेथोक र वडा नं ६ लेलेपमा सोझो यातायात आवागमन बन्द भएको छ ।
गत साउन १९ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा रानीपुलमा बेलिब्रिज निर्माण नभईञ्जेलसम्मका लागि तमोर–५ जलविद्युत आयोजनाद्धारा निर्माण भई सञ्चालन उपयुक्त रहेको पुललाई ताम्मावा देखि फेम्बो जोड्ने माध्यम बनाउन करिव अढाई किलोमिटर क्षेत्रमा नयाँ ट्रयाक खोल्ने बिषयमा गरिएको आग्रह अस्विकार गरेर हिंड्नु भएका परिषद् अध्यक्ष फेम्बुले सोहि ठाउँमा बेलिब्रिज निर्माणको बिषय अघि सार्नु भएको छ । फेम्बुले अस्विकार गरेपनि जिल्ला विपद् व्यवस्थापन समितिले ताम्मावा देखि फेम्बो जोड्ने माध्यम बनाउन करिव अढाई किलोमिटर क्षेत्रमा नयाँ ट्रयाक खोल्ने निर्णय गरिसकेको छ । नयाँ ट्रयाक खोल्ने उक्त निर्णयमा कानुनी अड्चन रहेको तथा उक्त क्षेत्र पुरानो बाढी पहिरो गएको क्षेत्र समेत भएकोले जोखिम हुने भन्दै कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष फेम्बुले असहमति जनाउनु भएको थियो ।