पाथीभरामा साढे एघार करोड बढी भेटी संकलन
-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कमलुङ) मा हालसम्म साढे एघार करोड रुपियाँ बढी भेटी रकम संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत आर्थिक वर्ष सम्ममा पाथीभरामा कुल ११ करोड ६४ लाख ९० हजार ७४ रुपियाँ भेटी संकलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिले सदरमुकाम फुङ्लिङमा आइतबार सार्वजनिक सुनुवाई आयोजना गर्दै आफ्नो गतिविधि सार्वजनिक गरेको हो । सार्वजनिक सुनुवाइमा समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार कुल भेटीमध्ये अघिल्लो आर्थिक वर्षसम्मको अल्या रकम आठ करोड नौ लाख छ हजार ३६३ रुपियाँ रहेको थियो ।
त्यस्तै गत आव २०८१-८२ मा तीन करोड ११ लाख ६४ हजार ६७६ रुपियाँ भेटी संकलन भएको छ । दाताबाट दान सहयोगबापत प्राप्त रकम २७ लाख ७७ हजार ४४३ रुपियाँ र बैंकको ब्याजबाट प्राप्त १६ लाख ४१ हजार ५९१ रुपियाँ रहेको कार्यकारी निर्देशक हाङ्बाङले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।
यता गत आवसम्म संकलित उक्त भेटी रकममध्ये हालसम्म आठ करोड २९ लाख ७७ हजार ३०० रुपियाँ खर्च भइसकेको छ । पाथीभरा धाम तथा पाथीभरा क्षेत्रको प्रवर्धन र पूर्वाधार विकासका कार्यमा उक्त रकम खर्च भएको समितिले जनाएको छ । खर्च भएर बाँकी रहेको भेटी रकम तीन करोड ३५ लाख १२ हजार ७७३ रुपियाँ समितिको खातामा मौज्दात रहेको पनि समितिले जानकारी दिएको छ ।
समितिका अनुसार विभिन्न ४६ देशका हालसम्म १० लाख ३९ हजार २३ विदेशी मुद्रा पनि भेटीका रुपमा संकलन भएको जनाइएको छ । यस्तै हालसम्म पाथीभरामा १७८ तोला ८२ लाल १ नम्बरको सुन संकलन भएको छ । पाँच हजार २९८ तोला असली चाँदी, छ हजार ५३९.७७५ किलोग्राम तामा र १६ हजार ३६८.१०० किलोग्राम घण्टी पनि संकलन गरिएको समितिले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य तथा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित सार्वजनिक सुनवाइमा विभिन्न सरोकारवाला तथा सर्वसाधारण नागरिकले विभिन्न सवालहरु उठाएका थिए । सरोकारवाला तथा अन्य नागरिकले उठाएका सवालहरुको पाथी क्षेत्र विकास समितिका पदाधिकारी, कार्यकारी निर्देशक लगायतले जवाफ दिनुभएको थियो ।
यता कार्यक्रमका अवसरमा पाथीभरा क्षेत्र विकास समिति स्थापना, विभिन्न माध्यमबाट पाथीभराको प्रवर्धन र विकासमा सहयोग पु¥याउनेलाई सम्मानसमेत गरिएको छ । सम्मानित हुनेमा पूर्वमन्त्री मणि लामा, पूर्व जिविस सभापति दीपेन्द्रकुमार सेन्दाङ, अग्रज व्यक्तित्व ताराबिर थापा रहनुभएको छ । त्यस्तै लेखक राजेश्वर थापा, गीत तथा संगीतकार अनिल खड्का, फोटोग्राफर हर्कराज गुरुङ, पत्रकारद्वय खगेन्द्र अधिकारी, कृष्ण फुरुम्बो, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत सम्मानित हुनुभएको छ ।
सम्मानित हुनेलाई दोसल्ला अढाउनुकासाथै कदरपत्र प्रदान गरिएको समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मासहित अन्य जनप्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो ।