|

ताप्लेजुङमा साहित्य सर्जकद्वारा सिर्जना वाचन

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ३० । ताप्लेजुङमा साहित्य सर्जकहरुले सिर्जना वाचन गरेका छन् । सदरमुकाम फुङ्लिङमा शुक्रबार मुक्कुमलुङ साहित्य प्रतिष्ठानले आयोजना गरेको कविता गोष्ठीमा सर्जकहरुले विभिन्न विधाका सिर्जना वाचन गरेका हुन् ।
प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोकका अनुसार जिल्लाको साहित्य प्रवर्धन, सर्जक र नव–प्रतिभाको सम्मान साथै सर्जकबिच भेटघाट गराई आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यले कविता गोष्ठी आयोजना गरिएको हो । गोष्ठीमा जिल्लाका अग्रज सर्जक अर्थात साहित्यकार, नव–प्रतिभा लगायतले विभिन्न विधाका सिर्जनाहरु प्रस्तुत गरेका प्रतिष्ठानका अध्यक्ष हेल्लोकले जानकारी दिनुभयो ।
उहाँका अनुसार अधिकांसले कविता विधाका सिर्जना वाचन गर्नुभएको थियो । केही सर्जकले गजल लगायतका अन्य विधाका सिर्जना प्रस्तुत गर्नुभएको प्रतिष्ठानले जनाएको छ । वर्तमान देशको परिवेश, समय र समाजको अवस्था, सामाजिक तथा व्यवहारिक परिस्थितिको उजागर र प्रेम भावमा आधारित सिर्जनाहरु कविता गोष्ठीमा वाचन भएका प्रतिष्ठानका सचिव देवानसिंह मादेन (विरही कान्छा) ले जानकारी दिनुभयो ।
यता साहित्य प्रवद्र्धन र आपसी सम्बन्ध सुमधुर बनाउनमा गोष्ठीले सहयोग पुग्ने विश्वास राखिएको प्रतिष्ठानका उपाध्यक्ष मणि सेम्बुले बताउनुभयो । उपाध्यक्ष सेम्बुका अनुसार साहित्यकार, सर्जक तथा साहित्यमा रुचि राख्ने नवप्रतिभाका लागि निरन्तर साहित्य सिर्जना गर्नमा गोष्ठीले उत्प्रेरणा जगाउने पनि प्रतिष्ठानले अपेक्षा राखेको छ ।
कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङको प्रमुख आतिथ्यतामा आयोजित कविता गोष्ठीमा करिव २५ जना सर्जकले सिर्जना वाचन गर्नुभएको थियो । गोष्ठीमा नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, माओवादी केन्द्रका जिल्ला सचिव सागरमणि गौतम, पहिचानवादी मोर्चाका जिल्ला संयोजक प्रदिप मादेन, अग्रज समाजसेवी कीर्तिमान मादेनसहित राजनीतिक दल तथा संगठनका प्रतिनिधि र साहित्य सर्जकहरुको सहभागिता रहेको थियो ।

Similar Posts