माइत मावल जान हिंडेका आमाछोरी फड्के पुलबाट खस्दा छोरीको मृत्यु,आमा घाइते

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन ३० । माइत मावल जान हिंडेका आमा छोरी फड्के पुलबाट झर्दा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० की २ बर्षिया छोरीको मृत्यु भएको छ भने आमा घाइते भएकी छन् । फुङलिङ नगरपालिका वडा नं १० का वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार मृत्यु हुनेमा फुङलिङ नगरपालिका वडा नं १० बस्ने २ बर्षिय निशा लिम्बू रहनु भएको छ । उहाँकी आमा शान्ता घाइते हुनु भएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
वडाध्यक्ष लिम्बूका अनुसार आमा शान्ता आफ्नी २ बर्षिय छोरी निशालाई लिएर माइती गाउँ फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमको तावातर्फ जाँदै हुनुहुन्थ्यो । उक्त क्रममा फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाको सीमानामा पर्ने सिस्नेखोलामा रहेको फड्के पुल तर्ने क्रममा आमा छोरी पुलबाट खस्नु भएको थियो । पुलबाट खसेकामध्ये छोरीको मृत्यु भएको छ भने आमा घाइते भएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।