तेल्लोक स्पोर्टिङ क्लवले दुई बिदेशी सहित ६ अनुभवी खेलाडी टिममा समावेश गर्ने

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १७ । साउन २४ गतेदेखि हुने तेस्रो ताप्लेजुङ गोल्डकपमा आयोजकको प्रतिनिधित्व गरेको तेल्लोक स्पोर्टिङ क्लवले स्थानीय बाहेक कम्तिमा ६ जना अनुभवी खेलाडीलाई टिममा राख्ने भएको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहनु भएका तेल्लोक स्पोर्टिङ क्लवका सल्लाहकार नरेन्द्रकुमार मावो(गणेश)का अनुसार टिममा सहभागी हुनेमध्ये आईभरीकोष्टका फोफना इब्राहिम र नाइजेरियाका स्यामुइल तेल्लोक स्पोर्टिङ क्लवको प्लेइङ सेटमा निश्चित भईसकेका छन् । दुई बिदेशी बाहेक टिममा नेपाली फुटबलको राष्ट्रिय टिममा रहेका दुई र ए डिभिजन लिग खेलेका दुई गरी ४ जनालाई समावेश गरी टिम सशक्त बनाउने तयारी गरिएको छ । तेल्लोक स्पोर्टिङ क्लवका अध्यक्ष अर्जुन भट्टराईले टिमकोतर्फबाट खेल खेल्ने अन्य खेलाडीलाई बन्द प्रशिक्षणमा राखी नियमित प्रशिक्षण गराईरहेको जानकारी दिनुभयो । बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई अहिले तीनजना स्थानीय प्रशिक्षकले खेल कौशलका बारेमा जानकारी गराईरहेको तेल्लोक स्पोर्टिङ क्लवले जनाएको छ ।
अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपमा गृह टिम तेल्लोक स्पोर्टिङ क्लबले उद्घाटन खेलमा द योङ ब्रर्दश क्लब इटहरी प्रतिश्पर्धी पाएको छ । साउन २५ गते हुने पहिलो चरणको दोस्रो खेलमा साहारा क्लब पोखराले रेड स्टार फुटबल क्लब झापासँग प्रतिश्पर्धा गर्ने छ। यस्तै पहिलो चरणको तेस्रो खेलमा साउन २६ गते भारत सिलगुढीको लेजण्ड फुटबल एकेडेमीको भिडन्त चर्च ब्वाइज फुटबल क्लब काठमाडौंसँग हुने छ । पहिलो चरणको अन्तिम खेलमा साउन २७ गते मधेसको सशक्त टिम सलहेश युवा क्लबले पूर्वी पहाडको पाँचथरस्थित फिदिम स्पोर्टिङ क्लबसँग प्रतिश्पर्धा गर्ने छ । प्रतियोगितामा ८ टिम सहभागी हुँदै छन् ।