अपर तमोरको कामदार बस्ने ब्यारेकमा तोडफोड,तोडफोड गर्नेको खोजी सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १६ । ताप्लेजुङमा निर्माणाधिन २ सय ८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत आयोजनामा काम गर्ने कामदार बस्ने ब्यारेक तोडफोड भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार कामदारहरु काम गर्न गएको बेला १०–१२ जनाको संख्यामा आएका मानिसहरुले कामदार बस्ने ब्यारेकमा तोडफोड गरेका हुन् । तोडफोडबाट ब्यारेकको १३ वटा झ्याल,६ वटा ढोका र १ थान हलोजेन बत्ति फुटेको प्रहरीले जनाएको छ ।
तोडफोड कसले ग¥यो भन्ने बिषयमा प्रहरीले केहि खुलाएको छैन । प्रहरीले तोडफोड गर्नेहरु फरार रहेको र खोजी कार्य जारी रहेको जनाएको छ । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढईको नेतृत्वमा प्रहरी टोली परिचालित गरिएको प्रहरीले जनाएको छ ।
आयोजना बन्न नहुने भन्दै त्यहाँ लामो समय देखि अपर तमोर हाइड्रोपावर प्रभावित संघर्षसमिति बिभिन्न माग राख्दै आन्दोलनमा थियो । उसले गत सायन ४ गते फुङलिङमा पत्रकार सम्मेलन गर्दै साउन ११ गतेसम्म्मा हाइड्रोपावर र करिडोर परियोजनाका सवारी साधन,गाडी,मेसिन सहितका सामान फिर्ता लैजानुपर्ने सहितका ३ बुँदे माग राखेको थियो । घोषित कार्यक्रम माथि बल प्रयोग भएमा थप चरणबद्ध आन्दोलन गर्ने प्रभावित संघर्ष समितिको चेतावनी थियो । यो घटनामा कसमार्फत भयो भन्ने चाँही अहिलेसम्म पुष्टी भएको छैन ।