बजार चलायमान बनाउन रमाइलो मेला
-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन १४ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारलाई चलायमान बनाउने उद्देश्यसहित रमाइलो मिनी मेला सुरु भएको छ । लाखेजात्रा पर्वको अवसर पारेर फुङ्लिङ बजारमा रमाइलो मिनी मेला लगाउन सुरु गरिएको हो ।
फुङ्लिङ बजारको तोक्मेडाँडा र वीरेन्द्र चौकनजिक रमाइलो मिनी मेला सुरु गरिएको छ । रोटे पिङसहित विभिन्न मनोरञ्जनात्मक खेलकुद लगायतका गतिविधि रमाइलो मेलामा राखिएको छ । दोखु युवा क्लबको आयोजनामा तोक्मेडाडा क्षेत्र र स्थानीय क्लबकै आयोजनामा वीरेन्द्र चौकको होटल जन्नु इन परिसरमा रमाइलो मेला सुरु गरिएको छ ।
व्यापारिक दृष्टिले बजारलाई चलायमान बनाउन साथै स्थानीय सर्वसाधारणलाई मनोरञ्जन दिलाउने उद्देश्यले रमाइलो मेला सुरु गरिएको आयोजक क्लबहरुले जनाएका छन् । आयोजकका अनुसार बालबालिकादेखि किशोर, युवा, प्रौढलगायत सबै उमेरका सेवाग्राही तथा मेलाप्रेमीलाई मनोञ्जन दिलाउन रोटे पिङसहित मनोरञ्जनात्मक खेल गतिविधि र सांगीतिक प्रस्तुतिहरु मेलामा रहेका छन् ।
रमाइलो मिनी मेलामा जुवाजन्य खेल तथा गतिविधि भने प्रतिवन्ध गरिएको छ । जुवाजन्य गतिविधिले झगडाको सुरुवात गराउन सक्ने सम्भावना अधिक रहने र शान्ति सुरक्षामा नकारात्मक असर पु¥याउने भएकाले त्यस्ता गतिविधि प्रतिवन्ध गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमको भनाइ छ ।
सदरमुकाम फुङ्लिङमा एकै समयमा दुई फरक–फरक स्थानमा रमाइलो मिनी मेला आयोजना गरिएकोले बजार चलायमान हुनेमा स्थानीय व्यापारीले अपेक्षा गरेका छन् । रमाइलो मेला भर्न तथा मनोरञ्जन लिनलाई मेलाप्रेमीको जमघट हुने र व्यापारिक दृष्टिले सिङ्गो फुङ्लिङ बजार नै केही चलायमान हुने अपेक्षा राखिएको ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष विकास गौतमले बताउनुभयो ।
यता लाखेजात्रा पर्वको अवसरमा सुरु भएको रमाइलो मिनी मेला, लाखे नाच प्रदर्शन, स्थानीय व्यापार तथा कारोबारलाई दृष्टिगत गरी बजार खुला रहने समयावधि पनि बढाइएको छ । हरेक दिन बेलुका ८ बजे बजार पसल बन्द हुने गरेकोमा राति १० बजेसम्म बजार खुला रहनेगरी समय बढाइएको छ । बजार खुला हुने बेलुकाको समयावधि बढाइएकाले थोरै भए पनि बजार चलायमान हुनलाई सहयोग पुग्ने अपेक्षा गरिएको बाणिज्य संघका अध्यक्ष गौतमको भनाइ छ ।
रमाइलो मेलासँगै अहिले फुङ्लिङ बजारमा लाखे चानको रौनक पनि सुरु भएको छ । गएको बिहीबार गठेमंगलको विधिपूर्वक पूजा गरी यसवर्षको लाखे पर्व सुरु भएको हो । गठेमंगलको दिनदेखि हरेक दिन साँझको समयमा फुङ्लिङ बजारमा नेवार समुदायले लाखे नाच प्रदर्शन गर्दै आएका छन् । लाखे नाच प्रदर्शनले पनि यतिबेला बजारमा चहलपहल बढ्दै गएको छ । गठेमंगलदेखि सुरु भएको लाखेजात्रा पर्व कृष्ण जन्माष्टमीपछि समाप्त हुने छ ।