एक वर्षमा १७ हजार बढीको आँखा परीक्षण तथा उपचार

-प्रयास लिम्बू
ताप्लेजुङ, साउन १० । ताप्लेजुङस्थित डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रले सत्र हजार जना बढीको आँखा परीक्षण तथा उपचार गरेको छ । आँखा उपचार केन्द्रले एक वर्षको अवधि अर्थात गएको आर्थिक वर्ष २०८१-८२ मा उक्त सङ्ख्यामा सेवाग्राहीलाई आँखा परीक्षण तथा उपचार सेवा प्रवाह गरेको हो ।
नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित आँखा उपचार केन्द्रले विभिन्न शिविर, घुम्ती आँखा परीक्षण कार्यक्रम र उपचार केन्द्रमार्फत आँखाका विरामी तथा सेवाग्राहीलाई सेवा प्रवाह गरेको हो । डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रका वरिष्ठ नेत्र अधिकृत काजी गुरुङका अनुसार गएको आवमा कुल १७ हजार ३४१ जनाको आँखा परीक्षण साथै उपचार गरिएको छ ।
सदरमुकाम फुङ्लिङमा रहेको आँखा उपचार केन्द्रमार्फत छ हजार ६४७ जनाको आँखा परीक्षण तथा उपचार गरिएको वरिष्ठ नेत्र अधिकृत गुरुङले जानकारी दिनुभयो । उक्त सङ्ख्यामध्ये दुई हजार ९७० जना पुरुष र तीन हजार ६७७ जना महिला रहेका छन् । उमेरका हिसाबले उपचार केन्द्रमार्फत सेवा प्राप्त गर्नेमा १५ वर्ष माथिका पाँच हजार ५८८ जना र १५ वर्षमुनिका एक हजार ५९ रहेका पनि गुरुङले जानकारी दिनुभयो ।
यस्तै आँखा उपचार केन्द्रबाहिर जिल्लाका विभिन्न ८० वटा विद्यालयमा सञ्चालित आँखा जाँच कार्यक्रममार्फत छ हजार ९०० जना विद्यार्थीको आँखा परीक्षण तथा उपचार गरिएको छ । वरिष्ठ नेत्र अधिकृत गुरुङका अनुसार तीन हजार ४०७ जना छात्र र तीन हजार ४९३ जना छात्राको आँखा परीक्षण तथा उपचार गरिएको छ । आँखा परीक्षण गरिएकामध्ये ५३९ जना छात्रछात्राको आँखामा समस्या फेला परेको उहाँले जानकारी दिनुभयो ।
विद्यालयहरुमा सञ्चालित आँखा जाँच कार्यक्रममार्फत सम्बन्धित विद्यालयका शिक्षक समेतको आँखा परीक्षण तथा उपचार गरिएको थियो । त्यस्तै जिल्लाका विभिन्न १८ स्थानमा आँखा जाँच कार्यक्रम सञ्चालन गरिएको र कार्यक्रममार्फत ८३३ जना पुरुष र ७०१ महिला गरी एक हजार ५२५ जनाले सेवा प्राप्त गरेका वरिष्ठ नेत्र अधिकृत गुरुङले जानकारी दिनुभयो ।
यसैगरी, गत आवभित्र फुङ्लिङस्थित आँखा उपचार केन्द्रसहित विभिन्न चार ठाउँमा सञ्चालित शल्यक्रियासहितको शिविरमार्फत दुई हजार २६९ जनाले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन् । गुरुङका अनुसार शिविरमार्फत मोतिविन्दु भएका १९७ जना विरामीको आँखाको शल्यक्रिया गरिएको छ । गएको आवमा आँखा उपचार सेवा लिएका ४० वर्षमाथिका करिव दुई हजार ४०० जनालाई पावरवाला चस्मा (अक्षर पढ्न मिल्ने) निःशुल्क वितरण गरिएको पनि उहाँले बताउनुभयो ।
यस्तै आँखामा समस्या देखिएका ३६९ जना विद्यार्थीलाई पनि चस्मा निःशुल्क वितरण गरिएको आँखा उपचार केन्द्रले जनाएको छ । आँखा उपचार केन्द्रको प्राविधिक सहयोग र विभिन्न स्थानीय तह तथा विद्यालयहरुको समन्वयमा आँखा जाँच कार्यक्रम सञ्चालन गरी गाउँगाउँमा सर्वसाधारणलाई आँखा परीक्षण तथा उपचार सेवा प्रदान गरिएको नेपाल नेत्रज्योति संघ जिल्ला शाखाका सभापति राजकुमार गुरुङले बताउनुभयो ।
चालु नयाँ आर्थिक वर्षका लागि पनि आँखा जाँच कार्यक्रमलाई निरन्तरता दिइने शाखा सभापति गुरुङको भनाइ छ । यता आँखा जाँच कार्यक्रमलाई निरन्तरता दिनेगरी विभिन्न स्थानीय तहसँग समन्वय भइरहेको शाखाका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । उपसभापति अधिकारीका अनुसार सर्वसाधारण सेवाग्राहीलाई सेवा प्रवाह गर्नेगरी शल्यक्रियासहितको आँखा शिविर र गाउँ–गाउँमा आँखा जाँच कार्यक्रम सञ्चालन गर्नका लागि सम्बन्धित तह तथा निकायसँग समन्वय गर्न सुरु भएको छ ।