अपर काबेलीको १८ सय मिटर लामो सुरुङमार्गमा ‘ब्रेक थु’

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन ५ । ताप्लेजुङको सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकामा पर्ने काबेली नदीमा निर्माणाधीन माथिल्लो काबेली जलविद्युत आयोजनाको इन्टेक देखि अडिटसम्मको सुरुङमार्गमा ब्रेक थु भएको छ ।
१ हजार ७ सय ७२ मिटर लामो सुरुङमार्गको ब्रेक थु भएसंगै आयोजनाले सम्पन्नताको नजिक स्थान बनाएको छ । २८ दशमलव १ मेगावाट क्षमताको जलविद्युत आयोजनाका व्यवस्थापक प्रकाश ढुङ्गानाले इन्टेक देखि हप्पुखोलासम्म आइपुग्ने १ हजार ७ सय ७२ मिटर लामो सुरुङमार्ग अपेक्षा अवधिभित्रै पूरा भएको बताउनुभयो । इन्टेक देखि अडिटसम्मको सुरुङमार्गमा ब्रेक थु भएपछि जलविद्युत आयोजनाका निर्देशक श्याम मैनाली र मुख्य प्रवद्र्धक डाक्टर मदन उप्रेति सहितको उपस्थितिमा सुरुङमार्ग निर्माणमा खटिएका जनशक्तिले खुसी बाँडेका छन् । आयोजनाको हेड वर्क सिरिजङ्गा गाउँपालिकाको तेल्लोकमा र विद्युत् गृह सिनाममा हुनेछ । विद्युत् आयोजनाका लागि खोयाहाङ देखि सिनाम सम्म गरी ५ किलोमिटर दुरीको सुरुङ मार्ग हुने भएको छ ।
पिस इनर्जी कम्पनी प्रालि आयोजनाको मुख्य प्रवद्र्धक रहेको छ । पिस इनर्जी अमेरिकामा स्थापना भएको कम्पनी टेस्ला हाइड्रो युएसएको नेपाली सहायक कम्पनी हो । सिरिजङ्गा गाउँपालिकाको सिनाम, आम्बेगुदिन र तेल्लोक तथा सिदिङ्वा गाउँपालिकाको लिम्बू दिन र मेहेले आयोजनाको मुख्य प्राविधिक क्षेत्र हुन् । आयोजनाका लागि कुल ५ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । कूल लागत अनुमानमध्ये ७५ प्रतिशत हिस्सा नेपाली बैङ्कहरूको ऋण लगानी रहने छ भने २५ प्रतिशत हिस्सा प्रवद्र्धकको स्वपुँजी रहने भएको छ । माछापुच्छ्रे बैंकको अगुवाइमा बैकहरूले ऋण लगानी गर्ने भएका छन् । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआइडिसिएल),राष्ट्रिय वाणिज्य बैंक र लक्ष्मी सनराइज बैंक ऋण लगानीका साझेदार वित्तीय निकाय हुने प्रवद्र्धक कम्पनीले जनाएको छ ।