मैवाखोलामा आव २०८१।८२ मा लाली रमिते ठोट्ने टोल विकास संस्था उत्कृष्ट,पायो ५० हजार पुरस्कार

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाभरी गठन भएका टोल विकास संस्थामध्ये आर्थिक बर्ष २०८१।८२ मा सबैभन्दा उत्कृष्ट कार्य सम्पादन गर्ने एउटा टोल विकास संस्थालाई नगद ५० हजार सहित पुरस्कृत गरेको छ ।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार आव २०८१।८२ को कार्य सम्पादनका आधारमा पालिकाको वडा नं २ स्थित लाली रमिते ठोट्ने टोल विकास संस्था पुरस्कृत भएको हो । ६ वटा वडा रहेको मैवाखोलामा २९ वटा टोल विकास संस्था रहेका छन् । गाउँपालिकाले उत्कृष्ट संस्था छनौट गर्दा अनुगमन समितिमार्फत संस्थाको क्रियाशीलता,विनियोजित आयोजनाहरुको कार्यान्वयनमा गुणस्तरीयता,सामूहिक नेतृत्व प्रणाली, निर्णय र कार्यान्वयन,स्थानीय सरकारले दिएका निर्देशनहरूको उचित कार्यान्वयन र विकास निर्माणमा स्वेच्छिक श्रम सहभागिता जस्ता बिषयलाई प्रमुख सूचकको रुपमा लिएको थियो । सोहि सूचकका आधारमा पालिकाभरी क्रियाशिल टोल विकास संस्थाको अनुगमन गरी तयार पारिएको प्रतिवेदनका आधारमा कार्यपालिकाले निर्णय गरी उत्कृष्ट टोल विकास संस्था छनौट गरिएको पालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो ।
स्थानीय सरकारले सञ्चालन गरेका हरेक क्रियाकलापहरुलाई संस्थागत र प्रभावकारी रुपमा परिचालन र प्रवाह गर्ने उद्देश्यले मैवाखोला गाउँपालिकाको टोल विकास संस्था गठन तथा परिचालन सम्बन्धी ऐन २०७९ कार्यान्वयनमा रहेको छ । सो ऐनमै हरेक आर्थिक बर्षमा उकृष्ट संस्था छनौट गरी पुरस्कृत तथा सम्मान गर्ने व्यवस्था रहेको छ । कार्यपालिकाले गरेको उत्कृष्ट संस्था छनौटपछि उक्त संस्थाका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई टोल विकास संस्थाकै कार्यक्षेत्रमा गएर पालिकाले सम्मान तथा पुरस्कृत गरेको हो । पालिका अध्यक्ष वनेमले विकास निर्माणमा नागरिकहरूको प्रत्यक्ष र स्वतस्फूर्त सहभागितालाई प्रोत्साहन गर्न उत्कृष्ट टोल विकास संस्था छनौट गरी पुरस्कृत गरिएको जानकारी दिनुभयो ।