फुङलिङमा बजार अनुगमन तीव्र
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २७ । जिल्ला अनुगमन समिति ताप्लेजुङले बजार अनुगमनलाई तीव्र बनाएको छ ।
सोमवार माछा तथा मासु पसलको अनुगमन गरेको अनुगमन टोलीले मंगलवार बिहान किराना,खाद्यान्न तथा तरकारी पसलहरुको अनुगमन गरेको हो । संयुक्त अनुगमन टोलीले मंगलवार फुङलिङका १३ वटा पसलको अनुगमन गरी न्यूनतम् व्यवसायिक मापदण्ड पूरा गर्न निर्देशन दिएको अनुगमन टोली संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार अनुगमनका क्रममा व्यवसायको प्रकृति अनुसार दर्ता तथा नविकरणमा जान,व्यवसायको प्रकृति अनुसार पसलको व्यवस्थापन गरी सञ्चालन गर्न,दर्ता तथा नविकरणमा आउन नसकेका पसल व्यवसायलाई तत्काल बैधानिक प्रकृया पूरा गर्न,मूल्यसूची सबैले दख्ने गरी राखी नियमित अद्यावधिक गर्न,माछा तथा मासु पसलको उचित सफाईमा ध्यान दिन,प्रचलित दररेट भन्दा बढी मूल्य लिएर सामान बिक्री बितरण नगर्न व्यवसायीलाई सुझाईएको छ । संयुक्त अनुगमन पछि व्यवसायीलाई प्रदान भएको सुझावको उचित कार्यान्वयन भए नभएको बारे अनुगमन समितिले छड्के अनुगमन समेत गर्ने जनाएको छ ।
अनुगमन समितिले सोमवार यहाँका माछा तथा मासुजन्य पदार्थ बिक्री बितरण गर्ने पसल व्यवसायको अनुगमन गरेको थियो । अनुगमनमा माछा पसलको व्यवस्थापनमा ध्यान दिन निर्देशन दिईएको समेत अनुगमन समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालय,भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,फुङलिङ नगरपालिका,घरेलु तथा साना उद्योग कार्यालय,जिल्ला प्रहरी कार्यालय सहितका निकाय तथा उद्योग बाणिज्य संघ,पत्रकार महासंघ,उपभोक्ता हित संरक्षण मञ्च सहितका निकायहरुको सहभागितामा बजार अनुगमन गरिएको सहायक प्रजिअ भट्टराईले बताउनुभयो । अनुगमन समितिले केहिदिन अघि सिरिजङ्गा गाउँपालिकासंगको सहकार्यमा तेल्लोक बजारमा रहेका पसलहरुको अनुगमन गरेको थियो ।