सिदिङ्वाले आफ्नै लोगो बनाउँदै,उपयुक्त लोगोलाई ९९ हजार

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिकाको पहिचान झल्किने गरी आफ्नै लोगो बनाउने भएको छ ।

पालिकाको पहिचान,ऐतिहासिकता,जनजीवन,आर्थिक,सामाजिक,साँस्कृतिक,धार्मिक,पर्यटकीय तथा अन्य बिशिष्ट पहिचान भल्कने गरी प्रतिश्पर्धात्मक विधिबाट पालिकाको प्रतिक चिन्ह(लोगो)बनाइन लागेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तीवेन्द्र अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार छनौट भएको प्रतिक चिन्ह(लोगो)लाई गाउँपालिकाले ९९ हजार रुपैयाँ करकट्टी सहित पुरस्कार प्रदान गर्ने भएको छ ।

प्रतिक चिन्हमा पालिकाको नाम,भौगोलिक नक्सा,राष्ट्रिय झण्डा र स्थापना मिति अनिवार्य समावेश भएको हुनुपर्ने छ । प्रतिक चिन्हमा गाउँपालिकाको पहिचान,ऐतिहासिक,जनजीवन,साँस्कृतिक चिनारी एवम् बिशिष्ट पहिचान भल्कने हुनुपर्ने छ । पालिकाका प्रमुख पर्यटकीय स्थल ढङ्ढङ्गे झरना,सिदिङ्वा धाम,तिम्बुङ पोखरी र चमेरे गुफाको पहिचानलाई अनिवार्य रुपमा समावेश गर्नुपर्ने पालिकाले जनाएको छ । लोगोमा मौलिकता र सृजनात्मकलाई बिशेष ख्याल गर्नुपर्ने छ भने लोगो रंगिन हुनुपर्ने र लोगोमा प्रयोग भएका संकेतको संक्षिप्त ब्याख्या गरेको हुनुपर्ने पालिकाले बताएको छ । लोगोमा कुनैपनि जातीय,धार्मिक र साँस्कृतिक विभेद गरेका संकेतहरु समावेश गर्न नपाइने भएको छ ।

साम्प्रदायिकता,राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा खलल पुग्ने कुनैपनि संकेतहरु प्रयोग गर्न नपाइने समेत पालिकाले बताएको छ । मूल्याङ्कन तथा छनौट सिफारिस समितिले प्राप्त भएका प्रतिक चिन्हमा आवश्यक परिमार्जन गर्न आग्रह गरेमा सो अनुसार परिमार्जन गर्नुपर्ने समेत पालिकाले बताएको छ । लोगो निर्माण गर्दा नेपाल सरकारको निशान छापको मापदण्ड बमोजिम निर्माण गर्नुपर्ने र लोगो पेश गर्दा डिजाइनकर्ताले अनिवार्य रुपमा नेपाली नागरिकताको प्रमाणपत्र समेत पेश गर्नुपर्ने भएको छ ।

Similar Posts