आगामी बजेटबारे वडा–वडामा पुगेर रायसुझाव संकलन

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २५ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटबारे वडा–वडामा पुगेर राय सुझाव संकलन गर्न थालेको छ । बजेटलाई स्थानीय आवश्यकता र मागअनुसार प्रभावकारी बनाउने उद्देश्य राखेर गाउँपालिकाले राय सुझाव संकलन गरिरहेको हो ।
गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाको नेतृत्वमा आगामी आर्थिक वर्ष २०८२–८३ को नीति, कार्यक्रम तथा बजेटका लागि स्थानीय जनता तथा सरोकारवालाको रायसुझाव संकलन गर्न थालिएको हो । बजेटलाई जनमुखी बनाउन वडा–वडामै पुगेर रायसुझाव संकलन गर्दै आएको उपाध्यक्ष लामाले जानकारी दिनुभयो ।
गाउँपालिकाको प्राथमिकताका विषय पहिचानमा सहजता बनाउन साथै जनताको चाहाना र भावना बुझेर बजेटलाई प्रभावकारी बनाउन रायसुझाव संकलन गरिएको उपाध्यक्ष लामाले बताउनुभयो । उहाँकाअनुसार गाउँपालिकाले निर्धारण गरेको प्राथमिकताका आधारमा केन्द्रित रहेर स्थानीय जतनासँग छलफल गर्नुका साथै उनीहरुको रायसुझाव माग गर्ने गरिएको छ ।
स्वरोजगार सिर्जना गर्ने, कृषि उत्पादन, गुणस्तरीय शिक्षा कायम गर्ने, भौतिक पूर्वाधारसहित स्थानीय आवश्यकताका दीर्घकालीन प्रभाव पर्ने खालका योजना निर्माण गर्न गाउँपालिकाले रायसुझाव संकलन गरी रहेको जनाएको छ । उपाध्यक्ष लामाका अनुसार कृषि, पर्यटन, लघुउद्यमजस्ता योजनाका माध्यमबाट आर्थिक क्रियाकलाप वृद्धि गर्ने, पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्ने खालका विषय प्राथमिकतामा रहने छन् ।
यिनै प्राथमिकतामा केन्द्रित आगामी नीति, कार्यक्रम तथा बजेटको तयारीमा गाउँपालिका रहेको बताइएको छ । यता गाउँपालिकाले सञ्चालन गरेको वडाका जनप्रतिनिधि, राजनीतिक दल, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी, शिक्षक, विद्यार्थी लगायतका सरोकारवालाको सहभागितामा रायसुझाव संकलन गरिँदै आएको छ ।
रायसुझाव संकलनका लागि उपाध्यक्ष लामाको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत विमल गौतम, विभिन्न शाखाका प्रमुख, गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापालगायत सहभागी रहनुभएको छ । स्थानीय तहले असार १० गतेभित्र नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सभामार्फत पेस गरिसक्नुपर्ने व्यवस्थाअनुसार जिल्लाका सबै पालिका नीति, कार्यक्रम र बजेटको पूर्व तयारीमा जुटेका छन् ।