योजनाको फाइल बोकर मन्त्रालय धाँउदै पालिका उपाध्यक्ष

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १२ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा लिम्बू योजना मागको फाइल बोकेर मन्त्रालय–मन्त्रालय पुग्नुभएको छ ।
आफ्नो गाउँपालिकाको समस्या र आवश्यकतामा केन्द्रित योजना माग गर्दै उपाध्यक्ष साम्रा कोशी प्रदेशका विभिन्न मन्त्रालय पुग्नुभएको हो । उपाध्यक्ष साम्रा योजना माग गरेको फाइल बोकेर प्रदेशका मन्त्रालयहरु पुग्नुभएको हो । उहाँले कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, पर्यटन वन तथा वातावरण मन्त्रालय र खानोपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा योजना मागको फाइल बुझाउनुभएको छ । सम्बन्धित मन्त्रालयका मन्त्रीलाई भेटेर विभिन्न योजना माग गरेको फाइल बुझाएको उपाध्यक्ष साम्राले जानकारी दिनुभयो ।
गाउँपालिकाभित्र कृषि एम्बुलेन्स सञ्चालन गर्ने, पालिकाको स्वास्थ्य भवन निर्माण गर्नेलगायत दर्जनौं योजनासम्बन्धी माग राखेर मन्त्रालयहरुमा फाइल बुझाएको उहाँले बताउनुभयो । उहाँकाअनुसार गाउँपालिकाको समस्या र आवश्यकतामा केन्द्रित योजनाहरु माग गरिएको फाइल मन्त्रालयमा बुझाइएको छ । यता योजना माग गरिएको फाइल बुझ्दै मन्त्रीहरुले आवश्यकता र प्राथमिकताका आधारमा योजना विनियोजन गर्ने आश्वासन दिनुभएको उपाध्यक्ष साम्राले बताउनुभयो । उहाँले योजना माग गरिएकोबारे सम्बन्धित मन्त्रालय र मन्त्रीलाई झक्झक्याई रहने आफूले तयारी गरेको पनि सुनाउनुभयो । फक्ताङ्लुङ गाउँपालिका क्षेत्रफलका हिसाबले जिल्लाकै ठुलो र भौगोलिक विकटता भएको स्थानीय तह हो ।