निर्माणाधीन प्रसारण लाइन आयोजनाको निरीक्षण

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २ । ताप्लेजुङमा निर्माणाधीन अवस्थामा रहेको प्रसारण लाइन आयोजनाहरुको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका कार्यकारी प्रमुख सागर श्रेष्ठले निरीक्षण गर्नुभएको छ । कार्यकारी प्रमुख श्रेष्ठले १३२ केभिए क्षमताको निर्माणाधीन मेवा–चाँगे प्रसारण लाइन र २२० केभिएको ढुंगेसाँघु प्रसारण लाइन आयोजनाको निरीक्षण गर्नुभएको हो ।
प्रमुख श्रेष्ठले निर्माणाधीन उक्त आयोजनाहरुको स्थलगत निरीक्षण तथा अवलोकन गर्नुहुँदै कार्यप्रगति लगायतका विषयमा जानकारी लिनुभएको थियो । ग्रिड कम्पनीका स्थानीय जनसम्पर्क व्यक्ति किरण लिङ्देनका अनुसार श्रेष्ठले आयोजनाको कार्यप्रगतिसँगै प्रयोगमा रहेका स्रोत–साधन, उपकरण तथा संलग्न कर्मचारीसहितका जनशक्तिको अवस्थाबारे पनि जानकारी लिनुभएको छ ।
निर्माणाधीन आयोजना निरीक्षणका क्रममा देखिएका प्राविधिक पक्षहरु, निर्माणको गुणस्तर, भौगोलिक चुनौती र स्थानीय समन्वयको अवस्थाबारे पनि उहाँले अध्ययन गर्नुभएको लिङ्देनले जानकारी दिनुभयो । अध्ययन तथा निरीक्षणपछि आयोजनामा संलग्न कर्मचारीसँग हालसम्म भएको प्रगति, आइपरेका समस्या, आगामी कार्ययोजना, स्थानीय जनप्रतिनिधिसँगको समन्वय, र आवश्यक स्रोत साधन व्यवस्थापनका विषयमा व्यापक छलफलसमेत गर्नुभएको बताइएको छ ।
छलफलका क्रममा श्रेष्ठले आयोजनाको काम समयमै सम्पन्न गर्न सबै कर्मचारीलाई आवश्यक निर्देशन दिनुका साथै कामप्रति उत्प्रेरणासमेत दिनुभएको छ । आयोजनालाई राष्ट्रिय गौरवको रूपमा अघि बढाउन सबै पक्ष एक ढिक्का भएर काम गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभएको सम्पर्क व्यक्ति लिङ्देनले बताउनुभयो ।
आयोजनाको क्षेत्र मैवाखोला गाउँपालिकाको ढुंगेसाँघुदेखि मेरिङ्देन गाउँपालिका हुँदै मिक्वाखोला गाउँपालिका–५ पापुङसम्म फैलिएको छ । निर्माणाधीन आयोजना क्षेत्रीय विद्युत आपूर्तिमा सुदृढ र सहजता ल्याउने महत्वपूर्ण परियोजनाको रूपमा रहेको कम्पनीले जनाएको छ ।