अति विपन्न दीर्घरोगीलाई मैवाखोलाको सहयोग,क्यान्सर पीडित शेर्पाले पालिकाबाट पाए १ लाख उपचार खर्च

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाको वडा नं ४ निवासी क्यान्सर पीडित एक व्यक्तिलाई उपचारका लागि १ लाख रुपैयाँ उपलब्ध गराएको छ ।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार पालिकाको वडा नं ४ निवासी लाक्पाओङदी शेर्पालाई पालिकाकोतर्फबाट उपचार सहयोग स्वरुप नगद १ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । पालिका अध्यक्ष वनेमले क्यान्सर पीडित शेर्पाको उपचार सहयोगका लागि पालिकाकोतर्फबाट १ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको छ । मैवाखोला गाउँपालिकाले दीर्घरोग भएका अति विपन्न परिवारलाई औषधि उपचार खर्च उपलब्ध गराउन सकिनेगरि कार्यविधि बनाएको छ । कार्यविधि अनुसार मुटु,मृगौला प्रत्यारोपण गरेका,डायलाइसिस गरिरहेका,क्यान्सर रोगी,अति विपन्न परिवारका बिरामी,मेरुदण्ड पक्षघातका बिरामी तथा प्यारालाइसिस भएका बिरामीहरुका लागि पालिकाले उपचार सहयोग उपलब्ध गराउन सक्ने छ । यो प्रकृतिका बिरामीको लामो समयसम्म उपचार गर्नुपर्ने भएकोले बिरामीलाई हुन जाने आर्थिक भार कम गर्न उपचारवापत खर्च उपलब्ध गराउने गरी मैवाखोलाले कार्यविधि अनुसार सहयोग गर्दै आइरहेको पालिका अध्यक्ष वनेमले बताउनुभयो ।
कार्यविधिको परिच्छेद–२ को नं ६ मा औषधि उपचार खर्च उपलब्ध गराउन सक्ने प्रावधान राखिएको छ । जसअनुसार औषधि उपचार खर्च प्राप्त गर्नका लागि लाभग्राहीले नियमानुसार पेश गरेको निबेदन उपर कार्यपालिकाको बैठकले निर्णय गरी बढीमा १ लाख रुपैयाँसम्म औषधि उपचार खर्च उपलब्ध गराउन सकिने छ । औषधि उपचार खर्च प्राप्त गर्न लाभग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिकताको प्रतिलिपि,नावालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,दीर्घरोग भएको प्रमाण पुग्ने चिकित्सकको सिफारिस,मेरुदण्ड अपाङ्गताको हकमा अपाङ्गता सम्वन्धी प्राप्त गरेको रातो वा निलो कार्ड तथा अति विपन्न परिवार भनी प्रमाणित भएको प्रमाणपत्रको प्रतिलिपि सहित सम्वन्धित वडा कार्यालयको सिफारिसपत्र अनिवार्य पेश गर्नुपर्ने हुन्छ ।
वडा कार्यालयमा पेश हुन आएका सिफारिसपत्र तथा अस्पतालबाट प्राप्त चिकित्सकको सिफारिस,अति विपन्न परिवार भनी वडा कार्यालयको सिफारिस समितिबाट छनौटमा परेका व्यक्तिहरुका बारेमा पालिकाले आवश्यक निर्णय लिई एकपटकका लागि यस्तो सुविधा उपलब्ध गराउन सक्ने कार्यविधिमा उल्लेख गरिएको छ । पालिका अध्यक्ष वनेमले दीर्घ रोग नियन्त्रणका लागि आफ्नो दैनिक जीवनमा सुधार ल्याउन सक्नुपर्ने समेत सुझाउनु भएको छ । दैनिक आहार–बिहार,जीवन शैली,रहन–सहन र बिषादी सहितका उत्पादनको उपभोगले अहिले दीर्घरोगीहरु बढ्दै गएकोप्रति चिन्ता जनाउँदै पालिका अध्यक्ष वनेमले प्रत्येक नागरिकले जीवनशैलीमा सुधार गर्न आवश्यक रहेको बताउनु भएको छ ।