अलपत्र परेको ८ बर्षपछि लिम्बूनी पुल निर्माणले पायो गति,निर्माणलाई तीव्रता दिएर पूरा गर्न कम्पनीलाई सुझाव

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १० । स्थानीय जनप्रतिनिधिसहितका सरोकारवालाको तीव्र दबाब पछि ताप्लेजुङको आठराई त्रिवेणी र पाँचथरको हिलिहाङ गाउँपालिका जोड्ने तमोर नदी माथिको लिम्बूनी पुल निर्माणको कामले गति पाएको छ ।
ठेक्का लिएको ८ वर्षसम्म पनि पुल निर्माणले आशातित गति नलिएको भन्दै ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले लिम्बूनी पुल निर्माणको जिम्मेवारी पाएका निर्माण व्यवसायीमाथि कानुनी लडाँईमा जाने चेतावनी दिदैं आएको थियो । आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन)ले निर्माण कम्पनीका प्रतिनिधि तेजबहादुर कुरुम्बाङलाई निर्माण स्थलबाट फोन गर्दै काम चोर प्रवृत्ति सच्याउन चेतावनी दिनु भएको थियो । ताप्लेजुङका तत्कालिन प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चागागाँई,उमेश पाण्डे,महेशकुमार पोखरेल,गोमादेवी चेम्जोङ,हीरादेवी पौडेल,रवीन्द्र आचार्य र अहिलेका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा सहित ताप्लेजुङका उद्योगी–व्यवसायी र सरोकारवालाले कयौंपटक स्थलगत अनुगमन गर्दै पुल निर्माण अलपत्र परेकोप्रति चिन्ता र चासो लिनु भएको थियो ।
गत चैत दोस्रोसाता पुलक्षेत्रको निरीक्षणमा जानु भएका आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष पोमू र निर्माणको जिम्मेवारी पाएको एम÷एस÷सपना÷याक्थुङ जेभी कम्पनीका प्रोपाईटर कुरुम्बाङबिच काम अलपत्र भएको बिषयमा नोकझोक समेत भएको थियो । ‘अहिले तीव्र गतिमा काम सुरु भएको छ,यसले निर्माणप्रति आसा पलाएको छ’आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष पोमूले भन्नुभयो‘बरु निर्माण कार्य र निर्माण क्षेत्रमा केहि समस्या भए हाम्रो निकायबाट हुनसक्ने सहयोग गर्न हामी तयार छौं’। पालिका अध्यक्ष पोमूले निर्माणको रफ्तार बढेकोमा खुसी व्यक्त गर्दै जनशक्ति र आवश्यक उपकरण तथा सामग्रीको व्यवस्थापन गरी चाँडै पुल निर्माण कार्य पूरा गर्न निर्माण कम्पनीलाई शुभकामना दिनु भएको छ । पालिका अध्यक्ष पोमूले सुरु भएको पुल निर्माण कार्य पूरा भएपछि ताप्लेजुङ र पाँचथर जोड्ने मात्र नभई यसले तमोर करिडोरको सडक लाईफलाईनमा नयाँ आयाम सृजना गर्ने बताउनुभयो ।
पुलबारे चासो लिएर अलपत्र परेको अवस्था बुझ्न धेरैपटक लिम्बूनी पुल पुगेका ताप्लेजुङ उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बू पुल निर्माणले गति पाएको सुन्दा उमंगित हुनुहुन्छ ।‘निर्माणमा ढिलाई त भएको हो,तर अहिले कामले गति लिएको सुन्दा खुसी लागेको छ’लिम्बूले भन्नुभयो‘अब निर्माण कम्पनीले कामका सबै प्रकृयामा तीव्रता दिएर पुल निर्माण कार्य पूरा गरी सरकारलाई हस्तान्तरण गर्नुपर्छ’ । पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य लिम्बूनी पुल निर्माणले गति पाउनु खुसीको बिषय भएको बताउँनुहुन्छ । जिम्मेवारी लिने तर पूरा नगर्ने परिपाटीकै कारण जिम्मेवारी पाएको निकायले आफ्नो काम गर्दापनि सेवा क्षेत्रका जनता खुसी हुनुपर्ने अवस्था आएको उहाँको प्रतिक्रिया छ । ढिलै भएपनि काममा फर्किएको निर्माण कम्पनीलाई सुझाव दिदैं आचार्यले काममा तीव्रता दिएर जिम्मेवारी पूरा गर्न अबका दिनमा आलटाल र ढिलासुस्ती नगर्न भन्नु भएको छ ।
२०७४ फागुन ६ गते (भ्याट र पिएससहित)२२ करोड पाँच लाख ७७ हजार ८ सय ९० रुपैयाँमा एम÷एस÷सपना÷याक्थुङ जेभी काठमाडौँसँग पुल निर्माणका लागि सम्झौता भएको थियो । सम्झौतापछि निर्माण कम्पनीले निघुरादिनतर्फबाट पुलको बेस उठाउने र बीचमा एउटा पिलरको काम गरे पनि अरू काम गरेको थिएन । केही महिनाअघि पुलको बेसका लागि अलिअलि जमिन सम्याउने काम गरेको भए पनि निर्माण कम्पनीले त्यसयता काममा वेवास्ता गर्दै आएकोमा निर्माण कम्पनी यसैसाता पर्याप्त उपकरण र सामग्री लिएर कार्यस्थलमा आएको छ । पुलको नियमन गरिरहेको तमोर करिडोर (मूलघाट–सुभाङखोला–ओलाङचुङगोला) सडक योजना कार्यालयका इञ्जिनियर श्रवणकुमार मण्डलले बारबारको तागेता र दबाबसंगै निर्माण कम्पनीले यो साताबाट कामलाई तीव्रता दिएको बताउनुभयो । लिम्बूनी पुल निर्माणस्थल नजिकको पाँचथरतर्फको भागमा भौर्गभिक अध्ययनको काम समेत गरेपछि निर्माण कम्पनी कार्यस्थलमा खटिएको उहाँको भनाई छ ।
मण्डलका अनुसार सुक्खा पहिरोका कारण समस्या आउन सक्ने भएकाले कार्यालयकोतर्फबाट निर्माणस्थल नजिकको भागको भौर्गभिक अध्ययनको कार्य भएको थियो । वारिपट्टि पाँचथरको आङ्बुहाङ, पारिपट्टि ताप्लेजुङको निघुरादिन हुँदै तेह्रथमुको ह्वाकुतर्फ प्रवेश गर्ने स्थल यही हो । पक्की पुल नहुँदा अहिले आङ्बुङ र निघुरादिन प्रवेशमार्गमा पक्की पुल बन्ने स्थान नजिक रहेको झोलुङ्गे पुल माध्यम बनेको छ । आङ्बुङवारि निघुरादिनतर्फबाट दोभानसम्म जाने गरी तमोर करिडोरको सडकको ट्रयाक ओपन भएको छ । आङ्बुङतर्फ समेत तमोर करिडोर आइपुगे पनि पक्की पुलको अभावका कारण वारिपारि सडक सञ्जाल जोडिएको छैन । तमोर करिडोर नेपाल,भारत र चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने नेपालकै छोटो मार्गको रूपमा परिचित छ ।