ताप्लेजुङको साँवा थलङमा वडा स्तरीय फुटबल प्रतियोगिता गर्दै राष्ट्रिय युवा संघ

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ५ । नयाँबर्ष २०८२ को अवसर पारेर राष्ट्रिय युवा संघ नेपालको ताप्लेजुङस्थित मिक्वाखोला गाउँपालिका कमिटीले वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता गर्ने भएको छ ।
संघका मिक्वाखोला गाउँपालिका कमिटी अध्यक्ष पूर्ण थलङका अनुसार बैशाख १५ गतेदेखि साँवाको थलङ खेल मैदानमा प्रतियोगिता हुन लागेको हो । खेल नकाउटका आधारमा खेलाइने भएको छ । प्रतियोगितामा बिजेता हुनेले नगद १ लाख १ हजार रुपैयाँ तथा उपबिजेता हुनेले नगद ६१ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् ।
संघका सचिव उमेश लिम्बूका अनुसार प्रत्येक खेलका म्यान अफ दि म्याच हुनेलाई नगद १ हजार रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरिने भएको छ । खेलमा बिधागत पुरस्कारको समेत प्रवन्ध गरिएको आयोजकले जनाएको छ । बिधागततर्फ बेष्ट प्लेयर,बेष्ट डिफेण्डर,बेष्ट किपर,हाई स्कोरर र योङ प्लेयरलाई समेत पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ । खेलमा ७ जना खेलाडी र अतिरिक्त ३ सहित १० तथा टिम कोच र टिम म्यानेजर गरी जम्मा १२ जना हुनुपर्ने समेत आयोजकले सूचनामार्फत जनाएको छ ।