कञ्चनजंघा हीरक महोत्सव उद्घाटनको पूर्व सन्ध्यामा गरियो कञ्चनजंघा पार्क सेन्टरको शिलान्यास

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ५ । कञ्चनजंघा हीरक महोत्सव उद्घाटनको पूर्व सन्ध्यामा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकमा कञ्चनजंघा पार्क सेन्टरको शिलान्यास गरिएको छ ।
हिमालयन् ट्रष्ट युकेका अध्यक्ष ग्राम रिग्ली,विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ)नेपालका राष्ट्रिय व्यवस्थापक डाक्टर घनश्याम गुरुङ, समृद्ध पहाड परियोजनाका राष्ट्रिय निर्देशक सञ्जिव न्यौपाने र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बू सहितको उपस्थितिमा कञ्चनजंघा पार्क सेन्टरको शिलान्यास गरिएको लेलेपमा रहेका पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले जानकारी दिनुभयो ।
शुक्रवार(आज)बाट सुरु हुने कञ्चनजंघा हीरक महोत्सवको उद्घाटनका लागि भने नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई सहितका अतिथिगण उपस्थित हुने कार्यक्रम रहेको महोत्सव आयोजक कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले जानकारी दिनुभयो ।
महोत्सव बैशाख ७ गते सम्म चल्ने छ । महोत्सवकै अवसरमा बैशाख ३ गते देखि अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता जारी छ । उक्त प्रतियोगितामा ताप्लेजुङका मैवाखोला र आठराई त्रिबेणी बाहेक ७ तथा पाँचथरको याङवरक गरी ८ टिमको सहभागिता रहेको खेल संयोजक सन्तोष लिम्बूले जानकारी दिनुभयो । महोत्सवमा साँस्कृतिक कार्यक्रम समेत हुने छ । उक्त कार्यक्रमका लागि चर्चित हाँस्य कलाकार मनोज गजुरेल,मिलन नेवार,डेविड शंकर सहितका कलाकार ताप्लेजुङ आईसक्नु भएको छ ।