धार्मिक पर्यटकीय क्षेत्रको स्थान ओगट्दै सिदिङ्वा धाम,नयाँबर्षको दिन ७ सय दर्शनार्थी पुगे,थामडाँडामा सफाई

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २ । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा क्रमशःस्थान ओगट्दै गएको ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा पर्ने सिदिङ्वा धाममा मंगलवार सफाई गरिएको छ । नयाँबर्षको दिन सोमवार तीर्थालुको जमघट भएको क्षेत्र थामडाँडा र सिक्रेमा सफाई गरिएको हो ।
मंगलवार सिदिङ्वा क्षेत्रका अगुवा युवाहरुले थामडाँडा र सिक्रे क्षेत्रमा सफाई गरेका हुन् । स्थानीय अगुवा कैलाश राई(प्रकाश)का अनुसार थामडाँडा क्षेत्रमा वनभोजस्थल समेत हुनेगरी ठूलो चौरी रहेको छ । त्यही चौरी आसपासमा सफाई गरिएको राईले जानकारी दिनुभयो । मनोरम दृश्य समेत अवलोकन गर्न सकिने तथा खुल्ला चौरी भागमा रम्न सकिने क्षेत्र भएकोले थामडाँडामा पर्यटकहरु दिनभर बसेर रमाउन सक्ने राईले जानकारी दिनुभयो ।
सिदिङ्वा धामतर्फ जान धाम भन्दा करिव अढाई किलोमिटर वर रहेको सिक्रेडाँडासम्म मोटरबाटोमा पुगेको छ । मोटरबाटो पुगेको स्थल सिक्रेडाँडाबाट तीन हजार सातसय मिटर उचाईमा रहेको सिदिङ्वा धाम करिव अढाई घण्टाको आरामदायी पैदल दुरीमा पुगिने भएकोले २०८२ सालको नयाँबर्षको दिन करिव ७ सय मानिस धाम सम्म पुगेको राईले जानकारी दिनुभयो । यो पाथीभरा मन्दिर भन्दा ९४ मिटर कम उचाई भएको धाम हो । उहाँका अनुसार सोमवार सिदिङ्वा धाममा पाँचथर र ताप्लेजुङको सिदिङ्वा र पाथीभरा याङवरक सम्मका नागरिक पुगेका थिए ।
सिदिङ्वा धामबाट विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा,पवित्र शक्तिपीठ पाथीभरा(मुक्कुमलुङ)तिम्बुङ पोखरी सहितका रमणीय स्थलका साथै भारतका सिक्कीम र दार्जिलिङ जस्ता क्षेत्रहरुलाई नजिकबाट नियाले झैं देख्न सकिने भएकोले नयाँ सालको दिन सिदिङ्वा धाम दर्शनका लागि पुग्नेको संख्या बृद्धि हुँदै गएको राईले बताउनुभयो । किंवदन्ती अनुसार सिद्ध नाम गरेका ऋषिले कठोर तपश्या गरी आफ्नो मनोकाँक्षा पूरा गरेको स्थलको रुपमा सिदिङ्वा धामलाई लिने गरिन्छ । सिदिङ्वा धामलाई आफुले मागेको वर सिद्ध गरिदिने स्थलको रुपमा लिने गरिएको राईले बताउनुभयो । हिउँ सहितका अन्य केहि कारणले धाम जानमा कुनै कठिनाई नहुने भएकोले सिदिङ्वा धाम बाह्रैकाल जानआउन सकिने उनले जानकारी दिनुभयो ।
बैशाख,असोज र ऋषि तर्पणीको समयमा उक्त धाममा दर्शनार्थीहरु अरु बेला भन्दा बढी जाने गरेका छन् । ऋषि तर्पणीको समयमा त्यहाँ बिशेष पूजा पाठ समेत हुने गरेको राईको भनाई । सिदिङ्वा गाउँपालिकाका प्रत्येक वडाहरुलाई केन्द्र बनाएर रहेको र प्रत्येक वडालाई छोएको स्थल भएकोले गाउँपालिकाको नाम नै उक्त धामको नामबाट नामाकरण गरेको बताइन्छ । धाम नजिकको क्षेत्र सिक्रेडाँडासम्म पुग्ने सडक तथा धाम क्षेत्रमा पुग्ने पदमार्ग,धाम प्रवेशद्धार गेट सहितका संरचनाहरु पालिकाको समन्वय र लगानीमा निर्माण भएको गाउँपालिकाले जनाएको छ । धामसम्म पुग्ने संरचना बन्दै गएको र धामको थप प्रचारप्रसारका लागि यसै आर्थिक बर्षमा त्यहाँ सिदिङ्वा महोत्सव समेत सञ्चालन गर्ने तयारी भइरहेको राईले जानकारी दिनुभयो ।