ताप्लेजुङका शिक्षक संघसंगठनद्धारा तीनै तहका सरकारले राखेका तालिम,गोष्ठीमा सहभागी नहुन शिक्षकलाई आग्रह

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २५ । ताप्लेजुङस्थित शिक्षकहरुका पेशागत संघ संगठनहरुले बिद्यालय तथा शैक्षिक कार्यक्रम बन्द गरी काठमाडौं केन्द्रित सडक आन्दोलनमा सहभागी हुन जिल्लाका शिक्षकहरुलाई सामुहिक आवह्वान गरेका छन् ।
शिक्षकहरुका पेशागत संघ संगठनहरुले केन्द्र सरकार,प्रदेश सरकार र स्थानीय सरकारले राखेका तालिम,गोष्ठी,सेमिनार तथा सार्वजनिक कार्यक्रममा संलग्न नहुन समेत अपिल गरेका छन् । सोमवार शिक्षकहरुका यहाँस्थित पेशागत संघ संगठनहरुले सामुहिक विज्ञप्ति जारी गर्दै शिक्षकहरुका माग पूरा नहुञ्जेल शिक्षक महासंघले आवह्वान गरेको शैक्षिक हड्ताल कार्यक्रमप्रति ऐकबद्धता जनाएको घोषणा समेत गरेका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष मदनकुमार सेन्दाङ,नेपाल शिक्षक संघका जिल्ला सचिव चन्द्रमणि पौडेल,एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष तुलसीप्रसाद बिष्ट,अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष गणेश लङ्वा,प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधि शान्तिराम नेपाल र नेपाल राहत शिक्षक कोशी प्रदेश समिति सचिव रमेश अधिकारीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा सरकारसंग भएको सहमति अनुसार नयाँ शिक्षा ऐन जारी नगरेको र शिक्षकहरुका मुद्दामा सरकार गम्भिर नभएको दावी गरिएको छ ।