पाथीभरा याङवरकमा चैत ५ देखि प्रदेश,जिल्ला र पालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन २८ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा चैत ५ देखि ८ गते सम्म कोशी प्रदेश,ताप्लेजुङ जिल्ला र पाथीभरा याङवरक गाउँपालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
पालिकाको केन्द्र थेचम्बुस्थित पाथीभरा ब्याडमिन्टन हलमा तीनै तहस्तरीय प्रतियोगिता सञ्चालन हुने पाथीभरा याङवरक गाउँपालिकाका प्रशासन शाखा प्रमुख(अधिकृत छैटौं)शिव काम्वाङले जानकारी दिनुभयो । उहाँका अनुसार मेन्स डबल्स(सिनियर) र भेट्रान्स मेन्स डबल्स(४५ बर्ष माथि)समूहको स्पर्धा कोशी प्रदेश स्तरीय हुने छ । मेन्स डबल्स(सिनियर)तर्फका बिजेताले ४० हजार र उपबिजेताले ३० हजार तथा भेट्रान्स मेन्स डबल्सका बिजेताले ३० हजार उपबिजेताले २० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । यस्तै ताप्लेजुङ जिल्ला स्तरीयतर्फ कर्मचारी डबल्स,मिक्स डबल्स,मेन्स डबल(जुनियर) र जनप्रतिनिधि डबल्स गरी ४ वटा स्पर्धा हुने भएका छन् । जिल्ला स्तरीय ४ स्पर्धामा प्रत्येकमा बिजेता हुनेले नगद २० हजार र उपबिजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यता,पाथीभरा याङवरक गाउँपालिका स्तरीय मेन्स डबल्स(जुनियर सी)का बिजेताले नगद १० हजार र उपबिजेताले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् । पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाका स्वकीय सचिव तथा खेल व्यवस्थापक सदस्य तेजविर मेन्याङ्वोका अनुसार प्रदेश स्तरीय प्रत्येक टिमका खेलाडी एकै जिल्लाको मात्र हुनुपर्ने नियम रहेको छ । ताप्लेजुङ जिल्लामा आयोजित सिनियर टिममा सहभागिता जनाएर खेल खेलेका खेलाडीले ताप्लेजुङ जिल्ला स्तरीय जुनियर बिधामा सहभागी हुन पाइने छैन भने जिल्लामा आयोजित समूह ‘बी’को बिजेता जोडीलाई उक्त बिधाको खेलमा सहभागी नगराइने भएको छ । कर्मचारी बिधाको हकमा एउटै पालिकाका कार्यरत कर्मचारी मात्र समावेश भएको टिममात्र खेलका लागि योग्य मानिने भएको छ । कर्मचारीतर्फ स्पर्धा गर्नेले कर्मचारी परिचयपत्र तथा सम्वन्धित पालिकाको सिफारिस समेत अनिवार्य पेश गर्नुपर्ने नियम रहेको छ ।
भेट्रान्स मेन्स डबल्स(४५ बर्ष माथि)समूहको स्पर्धामा रहने खेलाडीले नागरिकताको सक्कलैप्रति आयोजक समक्ष पेश गर्नुपर्ने भएको छ । मिक्स डबल्सतर्फ ताप्लेजुङ जिल्लामा कार्यरत कर्मचारी तथा पाथीभरा याङवरक गाउँपालिका स्तरीय बिधातर्फ उक्त पालिकाभित्र कार्यरत कर्मचारीले समेत सहभागिता जनाउन पाउने भएका छन् । कुनैपनि बिधामा ४ भन्दा कम मात्र टिम दर्ता भएमा उक्त बिधाको खेल नखेलाउने आयोजकले निर्णय लिएको छ । पाँचथर जिल्लाका याङवरक गाउँपालिका र हिलिहाङ गाउँपालिकालाई आमिन्त्रत गाउँपालिकाको रुपमा खेलमा सहभागी गराइने भएको छ । आमन्त्रित ति गाउँपालिकाले पाथीभरा याङवरक गाउँपालिका स्तरीय स्पर्धा बाहेक अरु सम्पूर्ण बिधाहरुमा सहभागिता जनाउन पाउने भएका छन् ।
पाथीभरा याङवरक गाउँपालिका आयोजक रहेको उक्त प्रतियोगितामा प्राविधिक सहयोग पालिका स्तरीय ब्याडमिन्टन संघले गर्ने भएको छ । पालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाले व्यवस्थापन संयोजनको भूमिका निर्वाह गर्ने पाथीभरा याङवरकले जनाएको छ ।