मंसिर महिनामा १ सय ४७ जनाले पाए निःशुल्क रुपमा राहदानीको अनलाइन फारम भर्ने सेवा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ३ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले मंसिर महिनामा १ सय ४७ जना सेवाग्राहीको कार्यालय परिसरबाटै निःशुल्क रुपमा राहदानीको अनलाइन फारम भरिदिएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार मंसिर महिनामा ६ सय ७० जना सेवाग्राहीलाई आवश्यक पर्ने निबेदन तथा आवश्यक कागजातको प्रतिलिपि निःशुल्क रुपमा उपलब्ध गराईएको छ । तत्कालिन प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको कार्यकालबाट सुरु भएको कार्यालय परिसरबाटै निःशुल्क रुपमा राहदानीको अनलाइन फारम भरिदिने कार्यले त्यसयता निरन्तरता पाईरहेको छ । २०८० साल मंसिर १३ गतेबाट जिल्ला प्रशासन कार्यालयले कार्यालय परिसरबाटै निःशुल्क रुपमा राहदानीको अनलाइन फारम भर्ने सेवा दिईरहेको छ । पौडेल पछिका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्य र हालका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पौडेलको कार्यकालमा समेत निःशुल्क रुपमा राहदानीको अनलाइन फारम भरिदिने कार्यले निरन्तरता पाइरहेको छ ।

प्रशासन कार्यालयको कार्यालयको झ्याल नम्बर १५ बाट नियमित रुपमा यो सेवा प्रवाह गरिरहेको छ । प्रशासन कार्यालयले चालू आर्थिक बर्षमा १६ वटा नावालक परिचयपत्र बितरण गरेको छ । मंसिर महिनामा मात्रै यो प्रकृतिका ९ वटा परिचयपत्र जारी भएका छन् । चालू आवमा ६ सय ८ जनालाई राष्ट्रिय परिचयपत्रको कार्ड बितरण गरिएको छ । अघिल्लो आवमा ९ सय ३० जनालाई राष्ट्रिय परिचयपत्रको कार्ड बितरण गरिएको थियो । चालू आव लागिकन जन्मका सन्तानलाई वंशजको नागरिकता र बैबाहिक अंगीकृत नागरिकता भने बितरण गरिएको छैन । गैर आवासीय नागरिकता भने चालू आवमा तीनजनालाई प्रदान गरिएको छ । चालू आवमा ३० थान ठाडो उजुरी,५ थान अभद्र व्यवहारका मुद्दा दर्ता भएका छन् । चालू आवको पछिल्लो ५ महिनाको अवधिमा भ्रष्टाचार र नाफाखोरीसंग सम्वन्धित मुद्दा दर्ता नभएको समेत प्रशासन कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts