आठराई त्रिबेणीमा बिद्यालयका प्रधानाध्यापकको मासिक बैठक,सार्वजनिक शिक्षा सुधार प्राथमिकतामा

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २१ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले सार्वजनिक शिक्षा सुधारका उपाय केन्द्रित रहेर पालिकाका प्रधानाध्याकहरुको छलफललाई निरन्तरता दिने भएको छ ।
नियमित मासिक बैठक बस्ने परम्परा कायम राख्दै आठराई त्रिबेणीले मंसिर महिनाको छलफल सकेको हो । गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहनु भएका गाउँपालिका अध्यक्ष दीपेन्द्र(दीपेन)पोमूको अध्यक्षतामा बसेको बैठकमा पालिकाभरीका ३३ वटा बिद्यालयका प्रधानाध्यापक सहभागी हुनु भएको गाउँपालिकाले जनाएको छ ।
बैठकमा पालिकाका सबै बिद्यालयको शैक्षिक अवस्थाको विश्लेषण गर्दै समस्या निकासमा केन्द्रित छलफल भएको आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङले जानकारी दिनुभयो । आठराई त्रिबेणी गाउँपालिकाले यसअघि नै पालिका स्तरीय शैक्षिक सम्मेलन गर्दै सार्वजनिक शिक्षा सुधारका उपाय केन्द्रित घोषणापत्र समेत जारी गरेको थियो । घोषणापत्र जारी भएपछिको अवस्थाको समेत नियमित बैठकहरुमा छलफल हुँदै आएको छ ।
आठराई त्रिबेणी गाउँपालिकाले गत बर्षको माघ महिनाबाटै पालिका भरीका शिक्षकहरुलाई मासिक रुपमा तलवभत्ता उपलब्ध गराउन थालेको छ । आठराई त्रिबेणी गाउँपालिकाले पालिकाका सबै बिद्यालयका प्रधानाध्यापकलाई पालिकाकोतर्फबाट मासिक भत्ता समेत दिने गरेको छ भने पालिकालाई अनुदान समेत बढाएर शैक्षिक क्षेत्रको लगानीमा ब्यापक बृद्धि गरेको छ ।