नेपाल मेडिकल सर्पोट जर्मनीको आर्थिक सहयोगमा ताप्लेजुङ विकास मञ्चले दियो ८ लाख मूल्य बराबरको स्वास्थ्य उपकरण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ११ । नेपाल मेडिकल सर्पोट जर्मनीको आर्थिक सहयोगमा ताप्लेजुङ विकास मञ्चले आइतवार फक्ताङलुङ गाउँपालिकास्थित सिँवा स्वास्थ्य चौकीलाई ८ लाख मूल्य बराबरको तीनवटा स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।

प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई तथा ताप्लेजुङ विकास मञ्चका अध्यक्ष सन्तोष प्रसाँइले युएसजी मेसिन,एक्स–रे मेसिन र एक्स–रे प्रिन्टर हस्तान्तरण गर्नु भएको छ । सांसद भट्टराई र विकास मञ्चका अध्यक्ष प्रसाँइले उक्त मेसिनहरु फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति),फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमका वडाध्यक्ष आइतराम लिम्बू र स्वास्थ्य चौकी सिँवाका प्रमुख प्रेमकुमारी लिम्बूलाई हस्तान्तरण गर्नु भएको हो ।

नेपाल मेडिकल सर्पोट जर्मनीको आर्थिक सहयोगमा यहाँको स्वास्थ्य क्षेत्रमा बिभिन्न किसिमका कार्यक्रम सञ्चालन भएका छन् । नेपाल मेडिकल सर्पोट जर्मनीको आर्थिक सहयोगमा ताप्लेजुङ विकास मञ्चमार्फत सवा करोड बढी रकममा ताप्लेजुङ जिल्ला अस्पतालको भवन प्रवलीकरण तथा स्तरोन्नती भएको थियो भने करिव ९० लाख खर्चिएर आँखा स्वास्थ्य क्षेत्रमा काम गरिररहेको संस्था नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको भवन समेत निर्माण तथा प्रवलीकरण भएको छ ।

सांसद भट्टराईको समन्वयमा नेपाल मेडिकल सर्पोट जर्मनीका प्रमुख ‘उस्सी दिदी’ताप्लेजुङ आएर सहयोग गर्न थालेको ‘उस्सी दिदी’कोतर्फबाट नेपालका कार्यक्रमको संयोजन गर्ने पर्यटन व्यवसायी बिनोद आचार्यले जानकारी दिनुभयो । ‘उस्सी दिदी’जर्मनीकी सेवानिवृत्त चिकित्सक हुनुहुन्छ । नेपालका बिभिन्न जिल्लामा सहयोग गर्ने उनलाई नेपालीहरुले ‘उस्सी दिदी’ भनेर श्रद्धापूर्वक नाम दिएका छन् ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts