पाथीभरा मन्दिरमा पञ्चबलिसहित विशेष पूजा आराधना

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १ । ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरमा बिहीवार पञ्चबलिसहित विशेष पूजा आराधना गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले असोज शुक्ल पूर्णिमाको अवसरमा पञ्चबलि सहित मन्दिरमा पूजा आराधना गरेको हो ।

पञ्चबलिमा परम्परागत रूपमा पाँच प्रकारका पशु बलि चढाउने प्रचलन रहेको छ । जस अनुसार भेडा, बोका,हाँस,कुखुरा, परेवाको बलि चढाईएको छ । पाथीभरा देवीको उत्पत्ति नै भेडाको बलि चढाएर पुजाआराधनाबाट भएको भन्ने किम्वदन्ती रहेकाले भेडा सहितको पञ्चबलि चढाएर पुजाआराधाना गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । देवीको प्रसन्नताको लागि पञ्चबलिको विशेष महत्व रहेको जनविश्वास छ ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार यसअघि पाथीभरा मन्दिरमा यस प्रकारको पुजाआराधना गरेको पाइएको छैन । पाथीभरा आउने केहि भक्तजनले आफ्नो भाकल अनुसार भेडा, बोका, पाठी, हाँस, कुखुरा, परेवाको बलि दिने गरेका छन् । तर पछिल्लो समय बलि दिने प्रथा भने न्यून हुँदै गएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताउनुभयो ।

पाथीभरा मन्दिरमा बिहीवार १ हजार ४ सय २२ जना भक्तजनले दर्शन गरेका छन् । पछिल्लो तीन दिनमा करिब ४ हजार दर्शनार्थी पाथीभरामा पुगेको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो । यस्तै असोज महिनामा ५ हजार ९ सय ४९ जना दर्शनार्थीले पाथीभराको दर्शन गरेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts