| |

खाद्य कम्पनीद्वारा दसैँमा छब्बिस लाखको चामल बिक्री

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक १ । ताप्लेजुङस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँको अवधिमा छब्बिस लाख रुपियाँ बढीको चामल बिक्री गरेको छ । कम्पनीले चाडपर्व लक्षित छुट अर्थात सुपथ मूल्यमा चामल बिक्री गर्न थालेपछि दसैँको अवधिमा मात्र २६ लाख २५ हजार ३७५ रुपियाँको चामल बिक्री गरेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले गत असोज ३ गतेदेखि जिल्लामा सुपथ मूल्यमा चामल बिक्री गर्न सुरु गरेको थियो । कम्पनीको सदरमुकाम फुङ्लिङस्थित कार्यालयसँगै रहेका गोदाम (भण्डारण कक्ष) बाट चामल बिक्री गरिरहेको छ । दसैँको अवधिभर अर्थात पूर्णिमा सम्ममा २६ लाख २५ हजार ३७५ रुपियाँ बराबरको चामल बिक्री गरेको शाखाले जनाएको छ ।
शाखा कार्यालयकी कर्मचारी मनिता लिम्बूका अनुसार दसैँको अवधिमा २४३.७५ क्विन्टल अर्थात २४ हजार ३७५ किलोग्राम जिरा मसिना चामल बिक्री भएको छ । यस्तै ७६ क्विन्टल अर्थात सात हजार ६०० किलोग्राम सोना मन्सुली चालम बिक्री गरेको लिम्बूले जानकारी दिनुभयो । साविक मूल्यभन्दा पाँच रुपियाँ छुट गरेर जिरामसिना प्रतिकिलोग्राम ८९ रुपियाँ र सोनामन्सुली प्रतिकिलोग्राम ६५ रुपियाँमा बिक्री गरिएको छ ।
यता उपभोक्ताको मागअनुसार चामल उपलब्ध गराउन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले जनाएको छ । अविरल वर्षापछि आएको बाढीपहिरोले मेची राजमार्ग अवरुद्ध बनेका कारण चामल ढुवानी गर्न नसक्दा उपभोक्तालाई मागेजति चामल दिन नसकेको शाखा कर्मचारी लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार सुपथ मूल्यमा चामल बिक्री गर्न सुरु गरेको करिव एक हप्तापछि सोना मन्सुली चामल सकिएको थियो ।
चालम आयात गर्ने तयारी भइरहेको बेलामा मेची राजमार्ग अवरुद्ध बनेकाले ढुवानी गर्न सम्भव नभएको र उपभोक्ताको मागअनुसार चामल दिन नसकेको शाखाले जनाएको छ । त्यसपछि मौज्दात रहेको जिरामसिना चामल मात्र प्रतिव्यक्ति एक बोराका दरले बिक्री गरिएको लिम्बूले जानकारी दिनुभयो । हाल कम्पनीको गोदाममा सोना मन्सुली चामल नभएको र जिरामसिना पनि ५२ क्विन्टल मात्र मौज्दात रहेको छ । अब भने मेची राजमार्ग सञ्चालनमा आएकाले चाँडै चामल आयात हुने शाखाले जनाएको छ ।
शाखाका अनुसार असोज ३ गतेदेखि सुरु भएको चामलको छुट मूल्य आगामी माघ २ गतेसम्म कायम रहने छ । चाडपर्व लक्षित छुट मूल्यमा चामल बिक्री ताप्लेजुङका लागि कोटा ७०० क्विन्टल रहेको छ । त्यस्तै सामान्य अर्थात साविक मूल्यमा बिक्री गर्ने चामलको कोटा ताप्लेजुङलाई दुई हजार क्विन्टल रहेको पनि शाखाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts