ताप्लेजुङमा कारवाही भोग्ने भन्दा कर्तव्यनिष्ठ बनी पुरस्कृत हुने प्रहरी कर्मचारी बढी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले कर्तव्यनिष्ठ प्रहरी कर्मचारीलाई सम्मान तथा आचरण विपरित कार्य गर्ने प्रहरी कर्मचारीलाई कारवाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो समय ताप्लेजुङमा आचरण र कर्तव्य बिपरित काम गरी कारवाही भोग्ने भन्दा आचरण र कर्तव्य अनुसार काम गरी पुरस्कृत हुने प्रहरी कर्मचारी बढी छन् । जिल्ला प्रहरी प्रमुख(डिएसपी) रवि रावलका अनुसार आर्थिक बर्ष २०८०।८१ को एक बर्षे अवधिमा १ सय ११ जना प्रहरी कर्मचारी पुरस्कृत हुँदा ३८ जना कारवाहीमा परेका छन् ।

चालू आर्थिक बर्षको असोज मसान्त सम्ममा पनि कारवाहीमा पर्ने भन्दा पुरस्कृत हुनेको संख्या बढी छ । जिल्ला प्रहरी प्रमुख रावलका अनुसार चालू आवको असोज मसान्त सम्ममा १९ जना प्रहरी कर्मचारी कर्तव्यनिष्ठ बनि पुरस्कृत भए । उक्त अवधिमा ८ जना प्रहरी कर्मचारी कारवाहीमा परेका छन् ।

प्रहरी नियमावली २०७१ (दशौं शंसोधन २०७८ समेत) को नम्बर ६६ मा प्रहरी कर्मचारीको काम,कर्तव्य र अधिकार निर्दिष्ट गरिएको छ । यसबाहेक समयानुकूल कर्मचारीको आचरण सुधार गर्न नेपाल प्रहरीले ‘आचारसंहिता सम्बन्धी कार्यादेश,२०७७’ समेत जारी गरेको छ । जारी आचार संहिताले नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा,अपराध नियन्त्रण एवं अनुसन्धान गर्ने कार्यमा शिष्ट, मर्यादित,जवाफदेही,कर्तव्यनिष्ठ,नैतिकता र अनुशासनप्रति प्रहरी कर्मचारीलाई प्रतिबद्ध बनाउने प्रहरीको अपेक्षा छ ।

प्रहरी कर्मचारीको काम,कर्तव्य र अधिकारमा उल्लेख भए अनुसार प्रहरी कर्मचारी आचरण तथा अनुशासनमा रहने,तोकिएको जिम्मेवारी उच्च मनोवल र कुशलतापूर्वक निर्वाह गर्ने,थुनुवा रहेका स्थानमा वा,खरखजना वा अरु मालसामान रहेका स्थानमा पालो पहरो बस्दा थुनुवा भाग्न नपाउने वा मालसामान हिनामिना हुन नपाउने गरी राम्रोसंग काम गर्ने,बदली हुँदा ड्युटीको सम्वन्धमा भए गरेको आदेश,तत्कालको जिम्मेवारी लगायत अन्य महत्वपूर्ण कुरा बदली भइ आउने प्रहरी कर्मचारीलाई स्पष्ट जानकारी गराउनुपर्ने हुन्छ ।

यस्तै फरार प्रतिवादी फेला परेमा पक्रने र अरु कुनै किसिमको अपराधको सुराक पाएमा आफ्ना कमाण्डरलाई तत्काल प्रतिबेदन गर्ने,सुरक्षा प्रतिकुल क्रियाकलाप,शान्ति सुरक्षामा खलल पु¥याउने गतिविधि,खराब चरित्र भएका वा शंकित वा फौजदारी अपराधमा अदालतबाट सजाय पाएका व्यक्ति तथा त्यस्ता व्यक्तिको गतिविधि र भेला हुने ठाउँका बारेमा जानकारी प्राप्त भएमा आफ्नो कमाण्डरलाई तत्काल प्रतिबेदन गर्ने कार्य समेत प्रहरी कर्मचारीको हुने छ ।

यस्तै शान्ति सुरक्षामा खलल पु¥याउने,नागरिकको जीउधनमा क्षति पु¥याउने र हतियार,बिष्फोटक पदार्थ एवम् अन्य गैर कानुनी मालसामान बारेमा जानकारी प्राप्त भएमा आफ्नो कमाण्डरलाई तत्काल प्रतिबेदन गर्ने,विपद्का बेला तदारुकताका साथ उद्धारमा संलग्न हुने,कमाण्डरले दिएको आदेश तदाकरुकताका साथ कार्यान्वयन गर्ने र प्रचलित कानुनले निर्दिष्ट गरे बमोजिम अन्य कार्य गर्ने वा गराउने कार्य प्रहरी कर्मचारीको काम,कर्तव्य र अधिकार भित्र समेटिएको छ ।

प्रहरी नियमावली २०७१ (दशौं शंसोधन २०७८ समेत) को नम्बर ६० मा जिल्ला प्रहरी प्रमुखको काम,कर्तव्य र अधिकारका बारेमा उल्लेख गरिएको छ । उक्त प्रावधानको ‘ग’मा जिल्ला प्रहरी प्रमुखले प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीको कामको मूल्याङ्कन गरी सजाय,पुरस्कार,सरुवा,बढुवा लगायतका वृत्तिविकासका काम गर्नुपर्ने व्यवस्था छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts