दर्ता र नविकरणका लागि ताप्लेजुङका पसल सञ्चालकलाई १५ दिनको म्याद

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १८ । ताप्लेजुङमा संयुक्त बजार अनुगमन गरिरहेको टोलीले दर्तामा आउन बाँकी रहेका पसललाई दर्ता तथा नविकरणका लागि १५ दिनको म्याद दिएको छ ।

अनुगमन टोलीले सुकेटारमा रहेका बजार तथा पसलको अनुगमनका क्रममा पसलमा नभेटिएका सञ्चालकलाई आफ्ना दर्ता तथा नविकरणका कागज भए सो सहित १५ दिन भित्र फुङलिङ नगरपालिकामा उपस्थित हुन पत्राचार गर्ने निर्णय भएको फुङलिङ नगरपालिकाको अनुगमन टोली संयोजक तथा नगर उपप्रमुख भीमादेवी ओझाले जानकारी दिनुभयो । उहाँले उपभोग्य म्याद गुज्रिएका सामान पसलबाट जफत गरी नष्ट गरिएको समेत बताउनुभयो । जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय समेतको सहभागितामा फुङलिङ नगरपालिकाले बजार अनुगमन गरिरहेको छ ।

फुङलिङ नगरपालिकाको अनुगमन कार्यदलका टोलीनेता तुलसा निरौलाले उपभोग्य म्याद हेरेर मात्र बस्तु खरिद गर्न उपभोक्तालाई आग्रह गरिएको बताउनुभयो । उहाँले मूल्य सूची नराखिएका तथा राखेर पनि नियमित अद्यावधिक नगरेका पसल सञ्चालकलाई ७ दिन मूल्यसूची राखी नियमित अद्यावधिक गर्न अनुगमन टोलीले सचेत गराएको जानकारी दिनुभयो । निरौलाले व्यवसायको प्रकृति अनुसार व्यवसाथ थप तथा दर्तामा आउन समेत आग्रह गरिएको जानकारी दिनुभयो ।

अनुगमन टोली सदस्य तथा ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण थापाले विपद्को समयमा बजारमा हुने कृत्तिम अभाव,उपभोक्ताले आवश्यकता भन्दा बढी सामान खरिद गरी मौज्दात गरेको वा नगरेको सहित व्यवसायीसंग मौज्दात रहेको उपभोग्य सामग्रीको सूची निकाल्ने कार्यमा समेत अनुगमन टोली सक्रिय रहेको बताउनुभयो । उहाँका अनुसार ताप्लेजुङ उद्योग वाणिज्य संघको सचिवालयमार्फत दैनिक रुपमा उपभोग्य बस्तुको मौज्दात अवस्थाको तथ्याङ्क लिने काम भइरहेको छ । उहाँले उपभोग्य बस्तुको सामग्री बिक्रीमा प्रचलित दररेट भन्दा बढी लिन नपाइनेतर्फ व्यवसायीलाई आफुहरुकोतर्फबाट नियमित जानकारी गराइँदै आएको समेत बताउनुभयो ।

केहिदिन अघि आएको बाढीले पाँचथरको हेंवाखोलामा रहेको बेलिब्रिज बगाएको तथा ठाउँ–ठाउँमा पहिरो गएर सडक समेत क्षति गरेका कारण अहिले मेची राजमार्गको पाँचथर–ताप्लेजुङ सडक खण्डमा यातायात सम्पर्क बिच्छेद भएको छ । तमोर करिडोर सडक समेत अबरुद्ध हुँदा अहिले ताप्लेजुङमा दैनिक उपभोग्य बस्तुको आयात रोकिएको अवस्थामा हुनसक्ने सम्भावित अभावबारे पूर्व सूचना समेतलाई आधार मानेर अहिले ताप्लेजुङमा कार्यसूची बनाई नियमित अनुगमन हुँदै आएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts