चोरीको रकम सहित ताप्लेजुङको निघुरादिनबाट दुई युवा पक्राउ

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १७ । चोरी गरेको रकम सहित ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाबाट दुईजना युवा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार आठराई त्रिबेणी गाउँपालिका वडा नं १ निघुरादिनबाट चोरीका दुई अभियुक्तलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले नियन्त्रणमा लिएकाहरुमा झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ बस्ने १९ बर्षिय आकाश राजवंशी र आठराई त्रिवेणी गाउँपालिका वडा नं १ बस्ने राजिन भनिने फुलमान शेर्पा रहेका छन् ।

राजवंशी र शेर्पा माथि यही असोज १४ गते निघुरादिनका काजीमान तामाङको घरबाट १ लाख २७ हजार रुपैयाँ चोरी गरेको अभियोग रहेको छ । चोरी पछि उनीहरु फरार रहेका थिए । इलाका प्रहरी कार्यालय दोभान र प्रहरी चौकी निघुरादिनबाट खटिएको संयुक्त गस्ति टोलीले निघुरादिनमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राजवंशी र शेर्पालाई जिल्ला अदालत ताप्लेजुङबाट ५ दिनको म्याद लिई थप अनुन्धान सुरु गरिएको समेत प्रहरीले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts