|

ताप्लेजुङमा चार दिनपछि विधुत आपूर्ति सुचारु

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज १५ । चार दिनदेखि अन्धकार रहेको ताप्लेजुङ जिल्लामा विधुत आपूर्ति सुचारु भएको छ । शनिबार रातिदेखि अवरुद्ध बनेको विद्युत सेवा मंगलबार दिउँसो ४ः३० बजेपछिबाट सुचारु भएको हो ।
अविरल वर्षासँगै गएको पहिरो र बढीका कारण इलाम खण्डमा काबेली कोरिडोरको टावर पोल (खम्बा) ढलेपछि विधुत सेवा अवरुद्ध बनेको थियो । विधुत सेवा अवरुद्ध हुँदा ताप्लेजुङ, पाँचथर र इलाम जिल्ला अन्धकारमय भएको थियो ।
नेपाल विधुत प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रका अनुसार १३३ केभी पुरानो प्रसारण लाइनलाई मर्मत गरेपश्चात विधुत सेवा सुचारु भएको हो । अहिले तीनवटै जिल्लामा विधुत आपूर्ति सुचारु भएको पनि वितरण केन्द्रले जनाएको छ । बाढीपहिरोले ढालेका काबेली कोरिडोरका पोल निर्माण गर्न भने कम्तिमा दुई/तीन महिना लाग्ने बताइएको छ ।
यता विधुत आपूर्ति बन्द हुँदा सदरमुकाम फुङ्लिङसहित सिंगो प्रभावित बनेको थियो । उज्यालो बत्तीसँगै विद्युतको प्रयोगबाट गर्नुपर्ने सबै सेवाहरु प्रभावित बनेका थिए । बैंकिङ कारोबार ठप्प भएको थियो । विधुतका कारण एटीएम, चेक सटही, नगद जम्मा गर्नेसहित बैंकिङ सेवा ठप्प हुँदा उपभोक्ता तथा सेवाग्राहीले निकै सास्ती खेप्नु परेको थियो ।
जिल्लामा सञ्चालित कलकारखाना, उद्योग धन्दा प्रभावित बनेका थिए भने सरकारी तथा गैरसरकारी कार्यालयका सेवा प्रवाहमा समेत समस्या आएको थियो । अब विधुत आपूर्ति सुचारु भएपछि जिल्लाको जनजीवन सामान्य बन्ने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts