व्यवसायीसंग भएको दैनिक उपभोग्य बस्तुको मौज्दात बुझ्न ताप्लेजुङमा थालियो बजार अनुगमन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १५ । विपद् पछि अबरुद्ध राजमार्गका कारण बजारमा उत्पन्न हुन सक्ने दैनिक उपभोग्य बस्तुको सम्भावित कृत्तिम अभाव सहितलाई ध्यानमा राखी ताप्लेजुङमा बजार अनुगमन सुरु गरिएको छ ।

फुङलिङ नगरपालिका,जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको अगुवाईमा संयुक्त बजार अनुगमन सुरु गरिएको हो । अनुगमन टोली संयोजक तथा ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार अनुगमनका क्रममा व्यवसायीहरुसंग रहेको दैनिक उपभोग्य बस्तुको मौज्दात परिमाण समेत संकलन गरिएको छ । दैनिक उपभोग्य बस्तुहरुको प्रचलित दररेट,मूल्य सूची राखे नराखेको तथा दर्ता र नविकरण समेतलाई अनुगमनको सूचकको रुपमा प्रयोग गरिएको खड्काले जानकारी दिनुभयो । अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका सामानहरु जफत गरी नष्ट गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

फुङलिङ नगरपालिकाको अनुगमन कार्यदल संयोजक तुलसा निरौलाले अनुगमनका क्रममा तत्कालका लागि दैनिक उपभोग्य बस्तुको अभाव नहुने गरी व्यवसायीसंग सामग्री रहेको पाइएको जानकारी दिईन् । पसल सञ्चालकहरुलाई उपभोग्य म्याद गुज्रिएका सामानहरु बिक्री नगर्न,सफाईमा ध्यान दिन,सामान भएर पनि बजारमा कृत्तिम अभाव सृजना नगर्न र प्रचलित दरभन्दा बढी मूल्यमा बिक्री नगर्न अवगत गराइएको उहाँले बताउनुभयो ।

ताप्लेजुङ उद्योग वाणिज्य संघले व्यवसायी तथा उपभोक्तालाई विपद्को अवस्था अवगत गराउँदै व्यवसायिक मापदण्ड विपरित नजान सचेत गराएको छ । उपभोक्तालाई आवश्यकता भन्दा बढी परिमाणमा सामग्री भण्डारण नगर्न तथा व्यवसायीलाई सामग्री भएर पनि छैन भनेर कृत्तिम अभाव सृजना नगर्न आग्रह गरिएको ताप्लेजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गणेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

वाणिज्य संघले प्रचलित दरभन्दा बढी मूल्यमा बिक्री गरेको र कृत्तिम अभाव सृजना गरेको पाइए प्रमाण सहित वाणिज्य संघमा उजुरी गर्न उपभोक्तालाई आग्रह समेत गरेको छ । संयुक्त अनुगममन टोलीले व्यवसायीसंग रहेको दैनिक उपभोग्य बस्तुको मौज्दात संकलन गरी थप आवश्यकता र समस्याको पहिचान समेत गर्ने जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts