एमाले ताप्लेजुङद्धारा ७ वटा विभागीय प्रमुख सहित जनवर्गीय संगठन र वडा कमिटीहरुको इञ्चार्ज चयन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २९ । नेकपा एमाले ताप्लेजुङले ७ वटा विभागीय प्रमुख सहित जनवर्गीय संगठन तथा वडा कमिटीहरुको इञ्चार्ज तोकेको छ ।

दोस्रो पूर्ण बैठकले पार्टीका पदाधिकारी सहित सचिवालय सदस्यहरुलाई विभागीय जिम्मेवारी प्रदान गरेको एमाले ताप्लेजुङका सचिव सन्तोष चाम्लिङले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फेलाई पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी दिईएको छ । उहाँ संविधानसभा सदस्य समेत हुनुहुन्छ । आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष समेत रहनु भएका पार्टी जिल्ला उपाध्यक्ष दीपेन्द्र पोमू(दीपेन)संगठन विभाग प्रमुख बन्नु भएको छ ।

प्रचार तथा प्रकाशन विभागको प्रमुखको जिम्मेवारी जिल्ला सचिव चाम्लिङले पाउनु भएको छ । उपसचिव गोपाल न्यौपानेले वित्त तथा कोष नियन्त्रण विभागको जिम्मेवारी पाउँदा अर्का उपसचिव भीमादेवी ओझालाई स्थानीय विकास विभागको जिम्मेवारी दिईएको छ । ओझा फुङलिङ नगरपालिकाको उपप्रमुख हुनुहुन्छ ।

निर्वाचन विभाग प्रमुखको जिम्मेवारी लेखनाथ भट्टराईले पाउनु भएको छ । उहाँलाई अनेरास्ववियुको जिल्ला इञ्चार्ज समेतको जिम्मेवारी दिईएको छ । सहकारी तथा गरिवी निवारण विभागको प्रमुखको जिम्मेवारी कुमार मादेनले पाउनु भएको छ । पार्टी पोलिटब्युरो सदस्य तथा ताप्लेजुङ ईञ्चार्ज तिलकुमार मेन्याङ्वो कोशी प्रदेश सरकारको मन्त्री हुँदा मादेन मेन्याङ्वोको प्रमुख स्वकीय सचिव हुनुहुन्थ्यो । सो भन्दा अघि एमाले नेता छत्रपति प्याकुरेल फुङलिङ नगरप्रमुख हुँदा समेत मादेन प्याकुरेलका स्वकीय सचिव हुनुहुन्थ्यो ।

बैठकले जिल्ला कमिटीको सचिवालय गठन तथा जनवर्गीय संगठनहरुको इञ्चार्ज समेत तोकेको चाम्लिङले जानकारी दिनुभयो । यहाँ रहेका ६१ वटै वडामा इञ्चार्जको जिम्मेवारी प्रदान गरिएको समेत उहाँले बताउनुभयो । कोशी प्रदेश इञ्चार्ज समेत रहनु भएका एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा बसेको बैठकले उक्त जिम्मेवारी बाँडफाँड गरेको एमाले ताप्लेजुङले जनाएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts