वडाध्यक्षको खोजी गर्दै ताप्लेजुङको सिकैचाका स्थानीयले गुहारे पालिका सरकार

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २५ । १० महिना देखि कार्यकक्षमा अनुपस्थित वडाध्यक्षको खोजीका लागि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाका बासिन्दाले पालिका सरकार गुहारेका छन् ।

स्थानीय ७ जना बासिन्दाले सिरिजङ्गा गाउँपालिकामा ज्ञापनपत्र बुझाउँदै १० महिना देखि कार्यवाहकको भरमा चलिरहेको वडापालिकाको समस्यालाई निकास दिन वडाध्यक्षको खोजी गरेका हुन् । स्थानीय छत्र काङ्भा लिम्बूका अनुसार सिकैचाका वडाध्यक्ष दिलप्रसाद बोखिम लिम्बू २०८० साल कात्तिक २४ गते देखि वडा कार्यालयमा अनुपस्थित हुनुहुन्छ। वडा सदस्य अम्बि साउदेनले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहनु भएको छ ।

लामो समय देखि कार्यवाहकको भरमा चलेको वडामा रहेका स्वास्थ्यचौकी,बिद्यालय र स्वयं वडाको कामकारवाही वडाध्यक्षको अनुपस्थितिमा प्रभावित भएको स्थानीय शक्तिलाल पौडल बताउँनुहुन्छ । सोहि वडाका पूर्व वडाध्यक्ष सन्तोष चाम्लिङ वडा र पालिकाको काममा वडापालिका भन्दा बाहिर जाँदा बाहेक लामो अवधि सम्म वडा नेतृत्वविहिन हुनु दुर्भाग्यपूर्ण भएको बताउँनुहुन्छ । ‘झण्डै बर्षदिन सम्म वडाध्यक्ष कार्यालयमा अनुपस्थित हुनु राम्रो पक्ष होईन’उहाँले भन्नुभयो ।

वडाध्यक्ष बोखिम वैदेशिक रोजगारीका लागि हङकङ गएको स्थानीयको बुझाई छ । उहाँले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी साउदेनलाई दिने वाहेक कार्यवाहक छाडिएको पत्रमा अरु केहि कुरा उल्लेख नगर्नु भएको स्थानीय बताउँछन् । स्थानीयले पालिकामा बुझाएको ज्ञापनपत्रमा वडाध्यक्षलाई जनताका माझ उपस्थित हुन आग्रह गरिएको छ । उपस्थित हुन नसक्ने अवस्थामा राजीनामा दिएर मार्गप्रसस्त गर्न स्थानीयले वडाध्यक्ष बोखिमलाई सुझाएका छन् ।

समस्या समाधानका लागि सम्वन्धित स्थानीय सरकारकोतर्फबाट उचित पहलकदमी लिन समेत स्थानीयले ज्ञापनपत्रमार्फत सिरिजङ्गा गाउँपालिकाको पनि ध्यानाकर्षण गरेका छन् । ‘ दुई–चार साता काम बिशेषले कार्यालयमा अनुपस्थित हुनु स्वभाविक हो,तर १० औं महिना सम्म कार्यालयमा नआएर जनताले दिएको अभिमतको अवमूल्यन गर्न उचित हुुँदैन ’स्थानीय निर्मलकुमार यवागुले भन्नुभयो । वैदेशिक रोजगारीमा गएकै हो भने यताको समस्यालाई बुझेर मार्ग प्रसस्त गर्नुपर्ने स्थानीयको भनाई छ । स्थानीयले आफुहरुको मागको उचित निकास नभए वडाध्यक्षको खोजीका लागि आन्दोलन सम्मको चेतावनी सहित पालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts