|

लिजाको २०७९।८० को अन्तिम नतिजामा ताप्लेजुङ भरीमा मैवाखोला अगाडि,कोशी प्रदेशमा इलाम नपा पहिलो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ७ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन(लिजा)को २०७९।८० को अन्तिम नतिजामा ताप्लेजुङ भरीमा मैवाखोला गाउँपालिका अब्बल देखिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुणस्तर परीक्षणको कार्य सम्पन्न गरी अन्तिम नतिजा प्रकाशित गरेको हो । नतिजा अनुसार ताप्लेजुङको मैवाखोलाको ८१ अंक छ । यस्तै मिक्वाखोला गाउँपालिकाले साविक भन्दा सुधार गरेर दोस्रोमा आएको छ । यसभन्दा अघि उ नतिजाको अन्तिममा थियो । उसको ६५.५० अंक छ ।

मेरिङदेनले ६५ अंक प्राप्त गर्दा पाथीभरा याङवरक गाउँपालिकाले ६४.५ अंक पाएको छ । यस्तै फक्ताङलुङ गाउँपालिकाले ६२.७५ अंक प्राप्त गरेको छ भने फुङलिङ नगरपालिकाले ५६.७५ अंक पाएको छ । सिरिजङ्गा गाउँपालिकाले ५६.५० अंक पाउँदा आठराई त्रिबेणी गाउँपालिकाले ५३ अंक पाएको छ । जिल्लागत नतिजाको पुछारमा रहेको सिदिङ्वा गाउँपालिकाको ४९.७५ अंक रहेको छ ।
कोशी प्रदेशभरीमा इलाम नगरपालिका पहिलो
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजामा कोशी प्रदेशभरीमा इलाम नगरपालिका उत्कृष्ट भएको छ । उसले ८९.५० अंक प्राप्त गर्दा इलामकै सूर्योदय नगरपालिका ८८.२५ अंकका साथ नतिजाको दोस्रो स्थानमा छ । झापाको कन्काई नगरपालिका र उदयपुरको कटारी नगरपालिकाले समान ८५ अंक पाएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ८३ अंक पाउँदा मोरङको बिराटनगर महानगरपालिकाले ८२.५० अंक पाएको छ । मोरङको सुन्दर हरैंचा नगरपालिका र सुनसरीको बराह नगरपालिकाको समान ८१.७५ अंक छ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले ८१ अंक पाएको छ भने मोरङको उर्लावारी नगरपालिका र ओखलढुङ्गाको सिद्धीचरण नगरपालिकाले समान ८०.७५ अंक पाएका छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले ८०.२५ अंक प्राप्त गर्दै ८० अंक कटाउने स्थानीय तहमा नाम लेखाएको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पालिकाको शासकीय प्रवन्ध,संगठन तथा प्रशासन,बार्षिक बजेत तथा योजना तर्जुमा व्यवस्थापन,वित्तीय एवम् आर्थिक व्यवस्थापन,सेवा प्रवाह,न्यायिक कार्य सम्पादन,भौतिक पूर्वाधार,सामाजिक समावेशीकरण,वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वय गरी १० वटा सूचकलाई आधार मानेर नतिजा अंक निर्धारण गर्ने गरिएको छ । स्थानीय तहको कार्य प्रकृया तथा उपलब्धीको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गरी आवधिक समिक्षाको आधार प्राप्त गर्न तथा स्थानीय सरकारबिच स्वस्थ्य प्रतिश्प्रर्धाको भावना जागृत गर्न लिजा मापन गर्ने गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts