|

तरकारी बिक्री नहुँदा किसानलाई घाटा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका किसानलाई आपूmले उत्पादन गरेको तरकारी बिक्री नहुँदा घाटा बेहोर्नुपरेको छ । निक्कै परिश्रम र लगानीबाट उत्पादन गरेको तरकारीजन्य वस्तु भनेजस्तो मूल्यमा बिक्री नहुँदा फुङ्लिङ नगरपालिका–९ हाङ्देवा बुङ्कुलुङका किसानलाई घाटा भएको हो ।
सदरमुकाम फुङ्लिङ बजार नजिक रहेको बुङ्कुलुङ क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोतको रुपमा तरकारी खेती रहेको छ । अधिकांश शेर्पा समुदायको बसोबास रहेको बुङ्कुलुङका करिव ५५ परिवारले अर्गानिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आएका थिए । यसवर्ष भने उत्पादित तरकारी भनेजस्तो मूल्यमा बिक्री नभएपछि आम्दानी गुमाउनुपरेको किसानको दुखेसो छ ।
बुङ्कुलुङका स्थानीय किसान पासाङरिता शेर्पाले विगतका वर्षमा तरकारी बिक्री गरेर मात्र वार्षिक तीन लाख रुपियाँ बढी आम्दानी हुँदै आएको बताउनुभयो । शेर्पाका अनुसार तरकारी खेतीमा संलग्न सबै परिवारले वार्षिक न्युनतम् ४० हजारदेखि तीन लाख रुपियाँसम्म आम्दानी गर्ने गरेका थिए । यसवर्ष तरकारी भनेजस्तो बिक्री नहुँदा आम्दानी गुम्नु मात्र नभई उल्टै घाटा बेहोर्नुपर्ने अवस्थ ाबनेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार बुङ्कुलुङमा उत्पादन भएको तरकारी सदरमुकाम फुङ्लिङ बजारसहित स्थानीय बजारमा मात्र नभई काठमाडौंसम्म ब्यापार हुने गरेको थियो । यो वर्ष भने कोरोना भाइरस (कोभिड–१९) का कारण बन्दाबन्दी भएपछि तरकारी जिल्ला बाहिर निर्यात गर्न सम्भव नभएको र स्थानीय बजारमा पनि बिक्री नभएको उहाँको भनाइ छ ।
बन्दाबन्दीका कारण सदरमुकामसहित स्थानीय बजारका होटलहरु बन्द भएपछि तरकारी बिक्री नभएको किसान बताउँछन् । बन्दाबन्दीकै कारण यो वर्ष प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन पनि ठप्प भएपछि होटलहरु सञ्चालनमा नआउँदा बुङ्कुलुङमा उत्पादन भएको तरकारी बिक्री नभएको हो । तरकारीमध्ये बन्दाकोभी मात्रै न्युनतम् प्रतिकेजी ३० रुपियाँमा बिक्री हुँदै आएकोमा यसवर्ष १५ रुपियाँले पनि बिक्री हुन गाह्रो भएको किसानले बताएका छन् ।
बन्दा, काउली, रायो साग, मुला, गाँजर, आलुजस्ता तरकारीजन्य वस्तु बिक्री नहुँदा बुङ्कुलुङका धेरै किसानलाई घर खर्च चलाउनलाई हम्मे परेको बताइएको छ । यहाँका धेरै किसान तरकारी खेतीमै निर्भर रहँदै आएका कारण उत्पादन भएको तरकारीजन्य वस्तु बिक्री नभएकाले उनीहरुलाई समस्या भएको हो । कोभिड–१९ को महामारी यसरी नै पछिसम्म कायम रहेमा वैकल्पिक खेतीबारे सोच्नुपर्ने अवस्था आउने बुङ्कुलुङका किसान बताउँछन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts