ताप्लेजुङको आठराई त्रिबेणीमा कर्मचारीहरुका लागि दुईदिने क्षमता विकास तालिम सुरु
उज्यालो पोष्ट
ताप्लेजुङ,असार ४ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकामा मंगलवारबाट कर्मचारीहरुका लागि दुईदिने क्षमता विकास तालिम सुरु भएको छ ।
आठराई त्रिबेणी गाउँपालिकाको आयोजना तथा पाथवे नेपाल प्रालि ईटहरी सुनसरीको प्राविधिक सहयोगमा तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले तालिमबाट कर्मचारीको दैनिक कार्य सचालन थप सहज,सरल र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । उहाँले तालिमबाट प्राप्त सीपको उपयोग गरेर दैनिक कार्य सञ्चालन थप सहज र सरल बनाउन कर्मचारीको दक्षता विकासमा उल्लेखनीय योगदान प्राप्त अपेक्षा समेत गर्नु भएको छ ।
तालिम उद्घाटन समारोहमा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईले कर्मचारीले दैनिक कार्य सञ्चालन तथा सेवा प्रवाह गर्दा अपनाउनुपर्ने कर्तव्यका बारेमा तालिमले थप वृत्ति विकास गरी सेवा प्रवाह सहज हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
तालिमका सहजकर्ता सेवक बजगाँईले तालिमको पहिलो दिन व्यक्तिगत सकारात्मक सोच तथा दोस्रो दिन बुधवार पेशागत क्षमता सुधार केन्द्रित अनुशिक्षण प्रदान हुने जानकारी दिनुभयो । तालिमका क्रममा कार्यालय अभिलेख,प्रस्तावना र प्रतिबेदन तयार,टिप्पणी तथा आदेश,समय व्यवस्थापन र व्यक्तिगत संक्षिप्त विश्लेषण सहितका बिषयमा अनुशिक्षण हुने भएको छ । अनुशिक्षणका क्रममा बजगाँईका साथ केशव सापकोटा र सुवास बारकोटी सहभागी हुनुहुने पाथवे नेपालले जनाएको छ ।