|

प्रदेश नं १ का ४ जिससको बेरुजु शुन्य,सबैभन्दा बढी बेरुजु झापाको

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, भदौ १ । प्रदेश नं १ का १४ मध्ये ४ वटा जिल्ला समन्वय समिति आफ्नो बेरुजु रकम शुन्य बनाउन सफल भएका छन् । महालेखा परीक्षकको ५७ औं प्रतिबेदन अनुसार मोरङ,धनकुटा,तेह्रथुम र सोलुखुम्बु जिल्ला समन्वय समितिका नाममा लेखा परीक्षण भएको आर्थिक २०७५।०७६ सम्ममा बेरुजु रकम छैन । प्रदेश नं १ का जिल्ला समन्वय समितिमध्ये सबैभन्दा बढी बेरुजु झापा जिल्ला समन्वय समितिको नाममा रहेको छ भने शुन्य बेरुजु बाहेक सबैभन्दा कम संखुवासभा जिल्ला समन्वय समितिको रहेको पाईएको छ । महालेखा परीक्षकको प्रतिबेदन अनुसार झापा जिल्ला समन्वय समितिको बेरुजु १२ करोड ८८ लाख ५९ हजार रुपैंया रहेको छ । संखुवासभा जिल्ला समन्वय समितिको बेरुजु रकम ६ लाख ९३ हजार रुपैंया मात्र रहेको मलेप प्रतिबेदनमा उल्लेख गरिएको छ । प्रतिबेदन अनुसार ताप्लेजुङ जिल्ला समन्वय समितिको ३२ लाख ६५ हजार रुपैंया रहेको छ । ताप्लेजुङ जिससको १७ करोड ५ लाख ७ हजार रुपैंयाको लेखा परीक्षण भएको थियो । यस्तै पाँचथर जिससको ७ करोड २३ लाख ९४ हजार रुपैंयाको लेखा परीक्षण हुँदा २६ लाख २३ हजार रुपैंया अझै बेरुजु कायम छ । ११ करोड ५१ लाख ३५ हजार रुपैंयाको लेखा परीक्षणमा इलाम जिससको बेरुजु रकम २७ लाख १ हजार रुपैंया बेरुजु कायम रहेको छ । बेरुजु फस्र्यौटमा झापा जिसस प्रदेश नं १ मै कमजोर देखिएको छ । मलेप प्रतिबेदन अनुसार १५ करोड ९५ लाख ५२ हजार रुपैंयाको लेखा परीक्षण गराएको झापा जिससको बेरुजु रकम १२ करोड ८८ लाख ५९ हजार रुपैंया रहेको छ । ८० करोड ८५ लाख ८१ हजार रुपैंयाको लेखा परीक्षण गराउँदा मोरङ जिससले बेरुजु रकम शुन्य बनाएको छ । बेरुजु फस्र्यौटमा मोरङ जिससको सफलतालाई ऐतिहासिक मान्न सकिन्छ । २६ करोड ७९ लाख ३१ हजार रुपैंयाको लेखा परीक्षण गराएको सुनसरी जिससका नाममा ४ करोड १५ लाख १५ हजार रुपैंया बेरुजु छ । २१ करोड ३८ लाख ३ हजार रुपैैंयाको लेखा परीक्षण गराएको धनकुटा जिसस र ५ करोड ५८ लाख ७८ हजार रुपैंयाको लेखा परीक्षण गराएको तेह्रथुम जिससको बेरुजु रकम पनि शुन्य छ । ५ करोड ६३ लाख ९४ हजार रुपैंयाको लेखा परीक्षण गराएको संखुवासभा जिससको बेरुजु रकम ६ लाख ९३ हजार रुपैंया छ । बेरुजु रकम रहेको मध्ये सबैभन्दा कम अंक संखुवासभाको हो । ६ करोड ७७ लाख ६१ हजार रुपैंयाको लेखा परीक्षण गराएको भोजपुर जिससको बेरुजु रकम ७ लाख ७८ हजार रुपैंया रहँदा २६ करोड १९ लाख ६७ हजार रुपैंयाको लेखा परीक्षण गराउँदा सोलुखुम्बु जिससको बेरुजु रकम भने शुन्य छ । ९ करोड ७९ लाख ८६ हजार रुपैंयाको लेखा परीक्षण गराएको ओखलढुङ्गा जिससको बेरुजु रकम लेखा परीक्षण अंकको झण्डै एकतिहाई अर्थात् ३ करोड २ लाख ४६ हजार रुपैंया रहेको छ । २ करोड ४६ लाख ८९ हजार रुपैंयाको लेखा परीक्षण गराएको खोटाङ जिससको बेरुजु ३५ लाख ६२ हजार रुपैंया तथा ४ करोड ९१ लाख ९ हजार रुपैंयाको लेखा परीक्षण गराएको उदयपुर जिससको बेरुजु रकम १ करोड २ लाख ८० हजार रुपैंया बेरुजु रहेको महालेखा परीक्षकको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts