| |

विद्यालय सञ्चालन गरे प्रधानाध्यापक र अध्यक्षलाई कारबाही

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, साउन २८ । हाल कोभिड–१९ को सङ्क्रमण दर तीब्र रुपमा बढिरहेका बेला ताप्लेजुङको स्थानीय प्रशासन सङ्क्रमणको नियन्त्रण कार्यमा थप कठोर बन्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै जिल्लाभित्र सङ्क्रमण फैलिन नदिनलाई नियन्त्रण तथा व्यवस्थापनका लागि कठोर बन्ने जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाद्वारा जारी सूचनामा जिल्लाभित्र अर्को सूचना नआएसम्म सबै शैक्षिक संस्थाहरु सञ्चालन नगर्न अनुरोध गरिएको छ । शैक्षिक संस्था अर्थात विद्यालय सञ्चालन गर्ने र गराएको पाइएमा सम्बन्धित विद्यालयको प्रधानाध्यपक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई जिम्मेवार व्यक्तिको रुपमा कारबाही गरिने उल्लेख गरिएको छ ।
यस्तै स्थानीय तहले सवारी पासका लागि मृत्यु संस्कारअन्तर्गत दागबत्ती दिने र काजकिरिया गर्ने कार्यका लागि मात्र सिफारिस गर्ने भनिएको छ । सवारी पासमा प्रशासन कार्यालयको सहमतिअनुसारको गाडी नम्बर र सञ्चालन मिति उल्लेख भएका सवारी साधनले मात्र जिल्ला प्रवेश गर्न पाउने छन् । सहमतिबिना आएका सवारीलाई जिल्ला प्रवेश गर्ने नाकाबाटै फिर्ता पठाइने छ ।
त्यस्तै जिल्लाभित्र भीडभाड हुने किसिमका गतिविधिमा बन्देज गरिएको छ । खेलकुदजन्य गतिविधि जस्ता भीडभाड हुने क्रियाकलाप गर्न नपाइने र त्यस्तो गतिविधि गरेको पाइएमा सम्बन्धित आयोजकलाई कानुनी कारबाही गरिने भएको छ ।
पछिल्लो समय दिन प्रतिदिन जोखिम बढ्दै गएकाले जिल्लाभित्र सङ्क्रमण फैलिन नदिनका लागि तत्काल कार्यान्वयन गर्नेगरी उक्त नीतिहरु अवलम्बन गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो । उहाँले यसको कार्यान्वयनमा कुनै कमी हुन नदिने पनि बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts