एकीकृत घुम्ति सेवा शिविरमार्फत ताप्लेजुङको सिरिजङ्गाका करिव ५ हजार नागरिक सेवामा जोडिए

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ९ । वडा तहका नागरिकलाई घरदैलोमै सेवा पु¥याउन ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले सञ्चालन गरेको १० दिने एकीकृत घुम्ति सेवा शिविरमा करिव ५ हजार नागरिक सेवामा जोडिएका छन् ।
गाउँपालिकाका सूचना अधिकारी तथा स्वास्थ्य संयोजक सञ्जीव सिंहका अनुसार विभिन्न १२ प्रकारका सेवामार्फत सेवाग्राही लाभान्वित भएका छन् । सिंहका अनुसार फागुन २९ गतेबाट चैत ७ गते सम्म सञ्चालन भएको सेवाका क्रममा पालिकाका ८ मध्ये ६ वटा वडामा स्थलगत रुपमै पुगी सेवा बितरण भएको थियो । वडा नं ८ याम्फुदिनलाई वडा नं ७ को खेवाङ र वडा नं ५ पेदाङलाई पालिकाको केन्द्र रहेको वडा नं ४ तेल्लोकमा केन्द्रित गरी बाँकी सबै वडामा पुगेर सेवा प्रवाह गरेको पालिकाले जनाएको छ ।

मेची आँखा अस्पतालसंगको प्राविधिक सहकार्यमा भएको आँखा परीक्षणका क्रममा १ हजार १८ महिला र ८ सय ५७ पुरुष गरी १ हजार ८ सय ७५ जना सवाग्राही आँखा सेवासंग जोडिएको पालिकाले जनाएको छ । वडा तहमा पुगेर छनौट भएकामध्ये ३९ महिला र ३६ पुरुष गरी ७५ जनाको मोतियाबिन्दुको शल्यकृया भएको थियो भने टेरिजम(आँखामा मासु पलाएको)सहित ७ महिला र ४ पुरुष गरी ११ जनाको आँखामा देखिएको समस्याको सामान्य शल्यकृया भएको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकका चिकित्सक डाक्टर सञ्जित भट्टराईको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले ८ सय ३६ महिला र ६ सय ५९ पुरुष गरी १ हजार ४ सय ९५ जनालाई स्वास्थ्य परीक्षण र उपचार गरेको समेत पालिकाले जनाएको छ । ४ सय २१ महिला र ४ सय ५७ पुरुष गरी ८ सय ७८ थान चश्मा समेत गाउँपालिकाले निःशुल्क रुपमा उपलब्ध गराएको छ । पालिका अध्यक्ष लालकृष्ण चौहानले सेवाग्राहीलाई आवश्यक पर्ने चश्मा,औषधि सहितका सेवा समेत पालिकाले निःशुल्क रुपमा उपलब्ध गराएको बताउनुभयो ।

एकीकृत घुम्ति सेवा शिविरकै क्रममा २६ सेवाग्राहीले व्यक्तिगत घटना दर्ता गराए भने २० जनाले व्यवसाय दर्ता तथा नविकरणको सेवा लिए । नेपाल बैंक लिमिटेड तेल्लोक शाखाबाट ६८ जना सेवाग्राहीले बैंक खाता खोल्ने सहितका बैंकिङ सुविधा पाएको समेत पालिकाले जनाएको छ । एकीकृत घुम्ति सेवा शिविर अवधिभरमा ७ महिला र ५ पुरुष गरी १२ जनाको अपाङ्गता परिचयपत्रको निबेदन संकलन भएको छ । २ सय ६४ महिला र २ सय ६८ पुरुष गरी ५ सय २ जनाले पालिकाको कृषि(आर्थिक विकास शाखा)र पशु सेवा शाखाबाट बीउबिजन,बिषादी र परार्मश सेवा लिएको पालिकाले जनाएको छ । यस्तै वडातहबाट बिभिन्न शीर्षकका ३८ जनाले सिफारिस सहितका सेवा पाएका छन् ।

पालिका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले घरदैलोमै पुगेर सेवा बितरण गर्ने पालिकाको योजनाले सार्थकता पाएकोमा प्रसन्नता व्यक्त गर्नु भएको छ । सेवाग्राहीले आफ्नै भूगोलबाट सेवा लिन पाऊन् भन्ने मनशायले पालिकाले चालू आर्थिक बर्षको बजेटबाट योजना अघि सारेको उपाध्यक्ष मावोले बताउनुभयो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीले सेवाग्राहीको भावना अनुसार एकीकृत घुम्ति सेवा शिविरको योजना अघि सारिएको र सो योजना सफलतापूर्वक सम्पन्न भएकोमा सम्वन्धित सबैपक्षप्रति आभार व्यक्त गर्नु भएको छ । लक्ष्य अनुसारकै सेवाग्राही सेवामा जोडिएको उहाँले जानकारी दिनुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts