ताप्लेजुङमा ‘सिर्जना उत्सव’ तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न
खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन २६ । ताप्लेजुङमा शनिवार ‘सिर्जना उत्सव’ तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा योगेश्वर वाङ्मय पुरस्कारद्धारा विमल बैद्य(इलाम) र ग्रेगरी कला संस्कृति पुरस्कारद्धारा भरतकुमार गुरुङ(ताप्लेजुङ)लाई पुरस्कृत समेत गरिएको आयोजक नेपाली साहित्य डट कम प्रतिष्ठानका अध्यक्ष कविनिवन्धकार मोमिला जोशीले जानकारी दिनुभयो । कार्यक्रममा ताप्लेजुङ सहित बिभिन्न जिल्लाबाट उपस्थितसाहित्य सर्जकहरुले आ–आफ्ना सृजना बाचन गरेका थिए । नेपाली साहित्य डट कम प्रतिष्ठानले फुङलिङ नगरपालिका र कञ्चनजंघा साहित्यिक प्रतिष्ठानको सहयोग लिएर उक्त कार्यक्रम गरेको हो ।
बरिष्ठ कवि एवम् संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोशी प्रदेशसभा सदस्य तथा पूर्व प्रदेश मन्त्री निर्मला तावा,जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,फुङलिङ नगरप्रमुख अमिर मादेन,प्रतिष्ठानका प्रमुख संरक्षक,कविगीतकार तथा नेपाल सरकारका पूर्व मुख्य सचिव डाक्टर विमल कोईराला,गरिवी निवारण कोषका पूर्व विभागीय प्रमुख अनिता कोईराला,प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल,श्रष्टा एवम् प्रतिष्ठानका प्रमुख संरक्षक उषा शेरचन,सडक नाटकका प्रणेता एवम् कवि अशेष मल्ल,जुझारु श्रष्टा महेश पौडेल सहितको उपस्थिति रहेको थियो ।
यस्तै श्रष्टाहरु राजेश्वर कार्की,अमर शाह,डाक्टर हरिप्रसाद मानसाग्नि,प्रा.डा सावित्री मल्ल कक्षपति,केशव सिग्देल,जानकी बस्नेत,मनुमञ्जिल,मणि लोहनी,भूपिन खड्का,महेश क्षितिज,जयदेव भट्टराई र सुन्दर बस्नेत सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको स्थानीय सहयोगी संस्था कञ्चनजंघा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो । प्रतिष्ठानकै आयोजनामा आइतवार भने साहित्य परिसम्वाद कार्यक्रम हुने भएको छ ।