पाथीभरा याङ्वरकलाई सिदिङ्वा रनिङ शिल्ड भलिबल उपाधि

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, फागुन ६ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सम्पन्न प्रथम सिदिङ्वा रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरक गाउँपालिकाले जितेको छ ।

आइतबार भएको फाइनलमा आयोजक सिदिङ्वा गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै पाथीभरा याङ्वरकले उपाधि जितेको हो । फाइनल खेलमा २७–२५ ले पहिलो सेट जितेको सिदिङ्वालाई पाथीभरा याङ्वरकले लगातार दोस्रो, तेस्रो र चौथो सेट २५–२१, २५–२१, २५–१३ ले जित हात पार्दै उपाधि जित्न सफल भएको हो ।

उपाधि जितसँगै पाथीभरा याङ्वरक गाउँपालिकाले रनिङ शिल्डसहित दुई लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता बनेको सिदिङ्वा गाउँपालिकाले एक लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ । तृतीय र चौथो स्थान प्राप्त गरेका अन्य दुई टोलीलाई सान्त्वना पुरस्कार स्वरूप समान २५ हजार रुपैयाँका दरले प्रदान गरिएको सिदिङ्वा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाले जानकारी दिनुभयो ।

प्रतियोगिताका विजेतालाई कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ, गाउँपालिका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कडरिया लगायतले पुरस्कार राशि, शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा पाँचथरका दुईसहित सात टोलीका सहभागिता रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts