ताप्लेजुङमा आँखाको परीक्षण गराएकामध्ये झण्डै एक चौथाई मोतिया बिन्दुका बिरामी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर १४ । ताप्लेजुङमा आँखाको परीक्षण गराएका मध्ये झण्डै एक चौथाई मोतिया बिन्दुका बिरामी भेटिएका छन् ।

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङले फुङलिङमा सञ्चालन गरेको आँखा शिविरमा ५ सय २४ जनाले परीक्षण गराएका थिए । ति मध्ये १ सय २१ जना मोतिया बिन्दुका बिरामी भेटिएको नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक ईञ्चार्ज काजीमान गुरुङले बताउनुभयो । डाक्टर रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाका नेत्र बिशेषज्ञ डाक्टर सगुन मल्लका अनुसार सबैभन्दा बढी ५० बर्ष उमेर नाघेका मानिसहरु मोतिया बिन्दुको रोगबाट ग्रसित देखिएका छन् । उहाँकै नेतृत्वमा रहेको ७ सदस्यीय चिकित्सक तथा प्राविधिक टोलीले फुङलिङको आँखा शिविरमा आँखाको परीक्षण,उपचार तथा मोतिया बिन्दुका बिरामीको शल्यकृया गरेको थियो ।

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ शाखाका उपसभापति खगेन्द्र अधिकारीका अनुसार १ सय ३१ जनाको शल्यकृया गरिएकोमा १० जना भने साधारण शल्यकृया गर्नुपर्ने बिरामी थिए । आँखामा मासु पलाएको सहितका बिरामीमा गरिने चिरफारलाई साधारण शल्यकृया भनिन्छ ।‘परीक्षण गरिएका मध्ये हाराहारी २५ प्रतिशत बिरामी मोतिया बिन्दुबाट ग्रसित भएको पाउनु चानचुने कुरा होईन’डाक्टर मल्लले भन्नुभयो । यसले बिरामीको संख्या बढेको मात्र देखाउने नभई मोतिया बिन्दुको उपचार सम्भव छ भनेर उपचारमा नागरिकको सुझबुझ र पहुँच पुग्न थालेको सूचकको रुपमा बुझ्न सकिने मल्ले बताउनुभयो ।
के हो मोतिया बिन्दु भनेको ?
डाक्टर मल्लका अनुसार आँखामा जन्मे देखिनै लेन्स हुन्छ । लेन्सले प्रकाशको किरणलाई मोडेर आँखाको पर्दा(रेटिना) मा पुग्न सहायता प्रदान गर्छ,जसले गर्दा आँखा अगाडी देखिने चित्र सफा हुने गर्छ । लेन्स धमिलो भएमा आँखा अ गाडीको चित्रहरु पनि धमिलो हुने गर्छ, जसलाई मोतियाबिन्दु भन्ने गरिन्छ । यो धमिलोपना अझै बढ्छ र हेर्नमा कठिनाइ हुन्छ । मोतियाबिन्दु एउटा वा दुवै आँखामा हुन सक्छ । तर यो एउटा आँखाबाट अर्कोमा चाहिँ सर्दैन ।

मोतियाबिन्दु सामान्यता वृद्धावस्थामा हुन्छ र यसलाई सिनाइल र एज रिले टेड मोतियाबिन्दु भनिन्छ । तर मोतियाबिन्दु जन्म जात आँखामा कुनै चोट लागेमा ,आँखाको कुनै कारणले ओपेरेशन गरेमा र जलबिन्दु वा मधुमेह जस्तो कुनै रोग लागेमा,कुनै औषधि जस्तै स्टेरोइडको प्रयोग लामो समय भएमा पनि हुनसक्छ । वृद्धावस्था हुने मोतियाबिन्दु ६०–७५ वर्षको उमेरमा हुन्छ भने कसैकसैलाई ४०–५० वर्षको उमेरमा पनि हुनसक्छ । शल्यक्रियाबाट मोतिया बिन्दु हटाएर र पुनः आँखाको दृष्टि फर्काउन सकिने भएको आँखामा यस्तो समस्या भएका बिरामीले तत्काल उपचारको पहुँचमा पुग्नुपर्ने मल्लले सुझाउनु भएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts