सिरिजंगा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सिरिजङगासिंह थेबेको स्मृतिमा तेल्लोकमा सिरिजङगा गोल्डकप हुँदै

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ५ । त्येअङ्सी सिरिजङगासिंह थेबेको ३१९ औ जन्मजयन्तीको अवसरमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा सिरिजङ्गा मेला तथा सिरिजङगा गोल्ड कपको तेस्रो संस्करण हुने भएको छ ।

गोल्डकप अन्र्तगत खुल्ला पुरुष फुटबल प्रतियोगिताका साथमा ब्याडमिन्टन प्रतियोगिता समेत थप भएको आयोजक तेल्लोक स्पोर्टिङ क्लवका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो । मंसिर २५ देखि २९ गते सम्म हुने खुल्ला पुरुष फुटबल प्रतियोगिताको बिजेताले नगद २ लाख २ हजार २ सय १ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक संस्थाले जानकारी दिएको छ । उपबिजेता टिम १ लाख १ हजार १ सय १ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्रको हकदार हुने छ ।

यो दोस्रो संस्करणको पुरस्कार भन्दा बढी रकम हो । दोस्रो संस्करणको बिजेताले १ लाख ५१ हजार र उपबिजेताले ८१ हजार रुपैयाँ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाएका थिए । फुटबलतर्फ प्रत्येक खेलमा म्यान अफ द म्याच प्रदान गरिने भएको छ । खेल अवधिभरबाट चार विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई मेडल, प्रमाण पत्र सहित नगद पुरस्कार प्रदान गरिने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

यसपटक फुटबलमा सहभागी टिम भने घटाईएको छ । यसपटक ८ टिम सहभागी हुनेछन् । यसअघि १० टिम सहभागी थिए । सहभागी फुटबल क्लवहरुले मंसिर १० गतेभित्र प्रकृयामा समावेश हुनुपर्ने र मंसिर १५ गते भित्र खेल तालिका सार्वजनिक गरिसक्ने समेत भट्टराईले सुनाउनुभयो ।
मेलाका लागि करिव २१ लाख ६० हजारको खर्च प्रस्ताव
सिरिजङ्गा मेलाका लागि २१ लाख ६० हजार रुपैयाँ बराबरको खर्च प्रस्ताव गरिएको छ । क्लवका कोषाध्यक्ष दिनेश भट्टराईका अनुसार महोत्सवका लागि सरकारी निकाय,संघसंस्था,दाता महानुभावहरुलाई आर्थिक सहयोगका लागि आग्रह गरिएको छ । मेलालाई स्थानीय स्तरमा उत्पादित बस्तुको बिक्री र प्रवद्र्धनको अवसरको रुपमा उपयोग गर्ने योजना बनाइएको छ ।

क्लबका सचिव रञ्जित मावोका अनुसार मेलाका अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितिमा मनोरजनात्मक कार्यक्रम,स्थानीय समुदायको जातिय पहिचान झल्कने जातीय झाँकी प्रदर्शनी सहितका कार्यक्रम हुने भएका छन् । सिरिजंगासिंह थेबेलाइ किराँत लिम्बू लिपिका प्रचारक,सिरिजंगा लिपि र याक्थुङ संस्कृतिका प्रणेता,जातिय अस्थित्वका रक्षक,ज्ञानका पुञ्ज एवम् प्रकाण्ड विद्धान मानिन्छ ।

सिरिजङ्गा गाउँपालिका त्येअङ्सी सिरिजंगासिंह थेबेको जन्म भएको स्थलको रुपमा परिचित छ । मंसिर २९ गते सिरिजंगासिंह थेबेको जन्म जयन्ती हो । त्येअङ्सी सिरिजङगासिंह थेबे स्मृति प्रतिष्ठान भने कार्यक्रमको मुख्य संरक्षक संस्था रहने भएको छ ।
फोटो ः गोल्डकप सहितका कार्यक्रमबारे छलफल गरिदैं ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts