चारबर्षभित्र निर्माण पूरा हुनेगरी १२८ मेगावाट क्षमताको तमोर–मेवा सुरु हुँदै,आउँदो चैतमा शिलान्यास गरिने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २ । लामो समय देखि चर्चामा रहेको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलबिद्युत आयोजनाको निर्माण सुभारम्भ यसैसालबाट हुने भएको छ ।
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले नेपाल विद्युत् प्राधिकरणसंग बिद्युत खरिद सम्झौता(पीपीए)गरेसंगै स्पार्कले तमोर–मेवा जलविद्युत् आयोजना निर्माणको प्रकृया अघि बढाउने बताएको छ । पीपीए सम्झौताअनुसार कम्पनीले आगामी २०८५ साल असोज २५ गतेभित्र बिजुली उत्पादन गरिसक्नुपर्ने छ । निर्माण कार्य सुरु गर्नुअघि गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण काम पीपीए पूरा भएपछि स्पार्कका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले आउँदो चैत महिनाको पहिलो साताबाट निर्माणको शिलान्यास गर्नेगरी तयारी अघि बढाईएको बताउनुभयो । कुमारी बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले लगानीको प्रतिबद्धता जनाएको समेत उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी ६ महिनाभित्र बैंक तथा वित्तीय संस्थाहरुमार्फत सबै वित्तीय व्यवस्थापनको कार्य पूरा हुने छ ।
बैंक तथा वित्तीय संस्थाको लगानी प्रतिद्धतालाई सुनिश्चत गर्ने कार्य पूरा नहुञ्जेल सम्म शेयर पुँजीबाट लगानी परिचालन गर्ने योजना बनाईएको लिम्बूले बताउनुभयो । बन्ने या नबन्ने भन्ने अन्योलतामा रहेको तमोर–मेवा जलबिद्युत आयोजनाले निर्माणको विश्वसनीय आधार पाएको छ । स्पार्कका अध्यक्ष लिम्बूले अब जलबिद्युत आयोजना निर्माण नहुने होकी भन्ने शंका समाप्त भएको बताउनुभयो ।‘मंसिरबाटै हामी निर्माणस्थलमा गनुपर्ने पूर्व तयारीका लागि जुट्ने छौं’लिम्बूले भन्नुभयो । उहाँले चैत महिनाबाट निर्माणको कार्य सुरु गरी ४ बर्षभित्र आयोजना पूरा गर्ने जानकारी दिनुभयो ।
पीपीए सम्झौताअनुसार वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा सुख्खायाममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ । आयोजनाले वार्षिक ७१ करोड १४ लाख ३३ हजार २ सय ९८ युनिट बिजुली उत्पादन गर्नेछ । आयोजनाले वर्षायाममा ६१ करोड ९७ लाख ४० हजार ४ सय २३ युनिट र सुख्खायाममा ९ करोड १६ लाख ९२ हजार ८ सय ७५ युनिट बिजुली उत्पादन गर्नेछ । वर्षायामको अवधि वैशाखदेखि मंसिरसम्म र सुख्खायामको अवधि पुसदेखि चैत महिनासम्म हुनेछ । आयोजनाले वर्षायाममा कुल उत्पादित ऊर्जाको ६० प्रतिशत सुख्खायाममा र ९० प्रतिशत वर्षायाममा उत्पादन गर्नैपर्छ ।
२४ अर्ब ३२ करोड रुपैयाँ कूल लागत अनुमान रहेको आयोजनाको लागतमध्ये ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋणबाट र २५ प्रतिशत प्रवद्र्धकबाट शेयर पुँजी लगानी हुने स्पार्कले जनाएको छ । यो आयोजना ताप्लेजुङ जिल्लाको आठराईत्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित रहको छ । २०७७ साल असोज २५ गते बिद्युत विकास विभागबाट १ सय २८ मेगावाट क्षमताको बिद्युत उत्पादनका लागि स्पार्कले अनुमति पाएको हो ।