न्यूनतम् व्यवसायिक मापदण्ड पूरा नभएका फुङलिङका माछा तथा मासु व्यवसायीलाइ अनुगमन समितिले सचेत गरायो

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १ । अनुगमन समितिले ताप्लेजुङको फुङलिङका न्यूनतम् व्यवसायिक मापदण्ड पूरा नभएका व्यवसायीलाई सचेत गराएको छ ।

अब उप्रान्तका अनुगमनका क्रममा स्वस्थ्य,सुलभ र बैधानिक प्रकृया पूरा नगरेको पाईए कानुन अनुसार हुने चेतावनी दिएको अनुगमन समितिले जनाएको छ । बुधवार फुङलिङ नगरपालिकाले माछा तथा मासु पसलहरुको अनुगमन गरेको थियो ।‘माछालाई डिफ्रिजमा राखेर गरिने व्यवस्थापन देखि खुल्ला रुपमा बेचिने माछा तथा मासुको स्वस्थ्य तथा सफा हुनुपर्ने बारेमा सचेत गराएका छौं’फुङलिङ नगरपालिकाको पशु स्वास्थ्य शाखाका संयोजक दीपेन्द्र भट्टराईले भन्नुभयो । अनुगमनका क्रममा माछा तथा मासुको व्यवस्थापन देखि बधशाला सम्मको सफाईका बारेमा व्यवसायीलाई भनिएको उहाँले जानकारी दिनुभयो ।

ताप्लेजुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दावा शेर्पाले बधशाला स्थल सुरक्षित र बध गर्ने प्रकृया समेतका बारेमा जानकारी दिईएको बताउनुभयो । पशु तथा पंक्षिको बध खुल्ला ठाउँमा गर्न नहुने,बध स्थल घेराबारा गरिएको हुनुपर्ने,खुल्ला र सबैले देख्ने ठाउँमा बध गर्न नपाइने बिषयमा समेत व्यवसायीलाई जानकारी गराईएको अनुगमन टोलीले बताएको छ । खुल्ला ठाउँमा गरिने बध प्रकृयाले बालबालिका समेतमा असर पर्ने गरेको गुनासो आएको भन्दै अनुगमन समितिले बध प्रकृयाका बारेमा छड्के अनुगमन समेत गर्ने नीति लिएको छ । फुङलिङ नगरपालिकाका कर्मचारी तुलसा निरौलाले नगरपालिकाको अनुगमन संयन्त्रले कार्यतालिका बनाएर भिन्न दिनमा भिन्न उपभोग्य बस्तुको अनुगमन गर्ने नीति लिएको जानकारी दिनुभयो ।

फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाको संयोजकत्वमा बनेको अनुगमन संयन्त्रले बजार अनुगमन नियमित र प्रभावकारी बनाउन अनुगमन कार्यदल गठन गरेको थियो । नगर उपप्रमुख ओझाले नगर कार्यपालिकाबाट पारित बजार अनुगमन कार्यदेश अनुसार अघि बढ्न अनुगमन कार्यदललाई आग्रह गर्नुभएको छ । अनुगमनका क्रममा कतिपय व्यवसायीहरु दर्ता तथा नविकरण प्रकृयामा नआएको,मूल्य सूची नराखिएको,सफाईमा कम ध्यान दिएको,खुल्ला ठाउँमा माछा तथा मासुको बिक्री हुने गरेको पाइएकोले यि समस्या सुधार्न अनुगमन समितिले निर्देशन दिएको छ । कतिपय व्यवसायीलाई व्यवसायिक प्रकृयाको सहजीकरणका लागि समयावधि दिएर नगरपालिकामा सम्पर्क गर्न भनिएको समेत अनुगमन समितिले जनाएको छ ।

माछा तथा मासु भण्डारणका लागि प्रयोग हुने फ्रिजको निरीक्षण गर्दै अनुगमन टोली ।

Similar Posts