मोरङको पथरी–११ बन्यो ताप्लेजुङ गोल्डकपमा सेमीफाईनल पुग्ने तेस्रो टोली

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १६ । मोरङ पथरीको पथरी–११ स्र्पोटिङ क्लव ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपको सेमीफाइनल पुग्ने तेस्रो टिम बनेको छ । ईटहरी सुनसरीको जुट विकास फुटबल क्लव र इलामको रेडहर्ष फुटबल क्लव बिहीबार र शुक्रवारका खेल जित्दै यसअघिनै सेमीफाईनल पुगीसकेका छन् ।

गोल्डकप अन्र्तगत शनिवार भएको तेस्रो खेलमा पाँचथरको फिदिम स्र्पोटिङ क्लवलाई २–० ले पराजित गर्दै पथरी –११ स्र्पोटिङ क्लवले सेमीफाईनलमा स्थान सुरक्षित गरेको हो । पथरीका लागि पहिलो हाफमा दीपक राईले गोल गोल गर्दै आफ्नो टिमलाई १–० को अग्रतामा लग्नुभयो । बिपक्षी गोलपोष्टको करिव २० यार्ड टाढाबाट भएको दीपकको प्रहार फिदिमका गोलरक्षक मिराक खजुमले बिफल बनाउन असफल रहनुभयो र पथरी पहिलो हाफअघि १– ० को अग्रतामा रहयो । राई नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी समेत हुनुहुन्छ । दोस्रो हाफमा पथरीका लागि निरज परियारले गोल गर्दै आफ्नो टिमको अग्रता दोब्बर पार्नुभयो । कर्नर अवसरमा पाएको बललाई उत्कृष्ट हेडिङ गर्दै निरजले गोल गर्दा पथरी जीत नजिक पुगेको थियो ।

बिपक्षी पथरी बिरुद्ध निकै मेहनेत लगाएको फिदिमका केहि प्रहार असफल भए । पथरीको दरिलो रक्षापंक्ति फिदिमका लागि गोल चुमाउन बाधक बन्यो । २–० ले पछि परेको अवस्था उल्टाउन फिदिमले खेलको अन्तिम समय सम्म प्रयास जारी राखेपनि गोल गर्न भने सकेन र खेल पथरीको पक्षमा गयो । टिमका लागि उत्कृष्ट खेल  खेल्नु भएका पथरीका  निरज परियार शनिवारको खेलमा म्यान अफ दि म्याच घोषित हुँदै नगद ५ हजार सहित सम्मानित हुनुभयो । तत्कालिन फुङलिङ नगरोन्मुख गाउँ विकास समितिका तत्कालिन अध्यक्ष स्वर्गीय प्रजापति काफ्लेका परिवारले हरेक दिनको म्यान अफ दि म्याचको प्रायोजन गर्नु भएको छ । अब पथरीको भेट फाईनल यात्राका लागि भदौ १८ गते जुट विकास फुटबल क्लवसंग हुने छ ।

जुट विकास पहिलो खेलमा गृह टिम ताप्लेजुङको मानाभरा स्र्पाेटिङ क्लवलाई हराउँदै सेमीफाईनल पुगेको हो । शुक्रवारको खेलमा रेडहर्ष फुटबल क्लव इलामले यसअघिको डिफेण्डिङ च्याम्पियन गोर्खा स्र्पोटिङ क्लवलाई हराएर सेमीफाईनलमा स्थान बनाएको हो । आइतवार भारत दार्जिलिङको खर्साङ फुटबल क्लवसंग स्पर्धा गर्दै तत्कालिन पाथीभरा गोल्डकपको डिफेण्डिङ च्याम्पियन झापा बिर्तामोडको रेडस्टार फुटबल क्लवले क्वाटर फाईनल चरणका खेल समाप्त गर्ने छ । आउँदो बुधवार सकिने प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेता टिमले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts