|

ताप्लेजुङ गोल्डकप ः रेडहर्ष इलाम बन्यो सेमीफाइनल पुग्ने दोस्रो टोली,डिफेण्डिङ च्याम्पियन गोर्खा स्र्पोटिङ खेलबाट बाहिरियो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १५ । झापा दमकको गोर्खा स्र्पोटिङ क्लवलाई २–० ले पराजित गर्दै रेडहर्ष फुटबल क्लव,इलाम ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपको सेमीफाइनल पुग्ने दोस्रो टिम बनेको छ । यो संगै ताप्लेजुङ गोल्डकपमा सेमीफाईनल पुग्ने ४ मध्ये दुई टोलीको टुङ्गो लागेको छ ।

बिहीबारको पहिलो खेलबाट जुट विकास फुटबल क्लव सुनसरी सेमीफाइनल पुगीसकेको छ । बिजेता रेडहर्ष फुटबल क्लव क्लवले भदौ १९ गते फाइनल यात्राका लागि आउँदो आइतवार हुने भारत दार्जिलिङको खर्साङ फुटबल क्लव र झापा बिर्तामोडको रेडस्टार फुटबल क्लवको बिजेतासंग भिड्ने छ । यो खेलको बिजेता पनि सेमीफाईनल पुग्ने छ । शनिवार सेमीफाईनल पुग्ने तेस्रो टोलीको निर्णयका लागि पाँचथरको फिदिम स्र्पोटिङ क्लव र मोरङ पथरीको पथरी स्र्पोटिङ क्लव भिड्ने छन् ।

आइतवारको खेल सकिएसंगै सेमीफाईनल पुग्ने ४ वटै टोलीको टुङ्गो लाग्ने छ । दमकको गोर्खा स्र्पोटिङ क्लव ताप्लेजुङमा तत्कालिन रुपमा सञ्चालित पाथीभरा गोल्डकपको बिजेता पनि हो । तर ताप्लेजुङ गोल्डपकको पहिलो संस्करणको खेल भने गोर्खाका लागि सुखद् बनेन । आइभरीकोष्टका फोफोना इब्राहिम र घानाका रिचार्ड विल्सन सहित राष्ट्रिय टोलीमा समेत अटाएका खेलाडी लिएर मैदान उत्रिएको गोर्खा स्र्पोटिङ क्लव, इलामको टिमसंग स्तब्ध हुँदै मैदान बाहिरिएको छ । खेलको १० औं मिनेटमा युवराज राईको गोलबाट अग्रता लिएको रेडहर्षले दोस्रो हाफमा पनि एक गोल थप्यो । रेडहर्षका लागि आशिष राईले खेलको ५९ मिनेटमा एक गोल गर्दै अग्रता दोब्बर पार्नुभयो । उहाँ खेलको म्यान अफ द म्याच समेत घोषित हुनुभयो । उहाँले नगद ५ हजार पुरस्कार समेत पाउनुभयो ।

नेपालका ग्रामीण क्षेत्रका अधिकाँस स्थानमा हुने फुटबल खेलमा मैदानमा देखिने फोफोना र रिचार्डलाई बिपक्षी टिमको दरिलो रक्षापंक्ति गोल गर्न बाधक बन्यो ।‘मिस पास’ र खेलको लय गुमाएर अलमलिनु गोर्खाको अर्को कमजोरी थियो । फोफोनाका अधिकाँस प्रहारलाई कहिले इलामका गोलरक्षक बिबेक मगरले गोल गर्नबाट असफल तुल्याईदिनु र कहिले पोष्ट नजिकबाट बाहिरिनु तथा रिचार्ड सहितका खेलाडीको गोल गर्ने प्रयास असफल हुनुको मौका उठाउँदै दरिलो रक्षापंक्ति र सुधारिएको प्रर्दशनका कारण रेडहर्ष इलामले सेमीफाईनलमा आफुलाई सुरक्षित गर्न सकेको छ । आउँदो बुधवार सकिने प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेता टिमले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts