साँस्कृतिक एकताको झल्को दिदैं ताप्लेजुङमा रोपाँई जात्राको रौनक

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १५ । परम्परागत रुपमा निकालिदै आएको रोपाँई जात्रा शुक्रवार ताप्लेजुङमा सम्पन्न भएको छ । रोपाँई जात्राको दिन शुक्रवार बिहानैदेखि मौसम परिवर्तन भएर कहिले घाम र कहिले धुम्म भएपनि ताप्लेजुङ सदरमुकाम फुङलिङमा भने चहलपहल बढेको थियो ।‘रोप न रोप रोपाहारे बहिनी’…… बोलको सुमधुर धुनको तालमा सुरिलो स्वरको गीत घन्काएर नेपाल भाषा तथा साँस्कृतिक समाजले यसपल्ट मनाएको रोपाईंजात्रा हेर्न गाउँ–गाउँबाट मानिसहरु फुङलिङ आएका छन् । अघि–अघि गोरु, हली र बाउसे अनि पछि–पछि रोपाहारले धान रोपेझैं रोपाईको झल्को दिने रोपाँई जात्रामा कलाकारले रोपाँईको अभिनय गरेका थिए । रोपाँई जात्राको भीड देखेर आयोजक नेपाल भाषा तथा साँस्कृतिक समाजका अध्यक्ष शंकर श्रेष्ठले भन्नुभयो, ‘बजारमा मानिस खचाखच भरिभराउ भएकोले अझै पनि पुराना संस्कृतिलाई मन पराउनेहरु थुप्रै रहेछन् भन्ने लाग्यो ।’ परम्परागत रुपमा युवकहरु युवतीको भेषमा रोपाइँ गर्ने चलन भएपनि एक दशक यता युवक युवतीहरु समान रुपमा रोपाइँमा सहभागी हुँदै आएका छन् ।

फुङलिङको रोपाँई जात्राको अर्को सुन्दर पक्ष भनेको यहाँ जात र धर्मका कुरा उठ्दैनन् ।‘सबै जाति,भाषा,धर्म र संस्कृतिमा आस्था राख्ने मानिसहरु बर्षेनि एकसाथ जात्रामा सहभागी भएको देखिरहेको छु ’नेपाल भाषा तथा साँस्कृतिक समाजका पूर्व अध्यक्ष निरोज श्रेष्ठले भन्नुभयो । उहाँले यो परम्परा सदियौं दिनदेखिको भन्दै यसलाई कायम राख्न सबै समुदायसंग अपिल पनि गर्नु भएको छ । खेतमा छमछम रोपाँई गरेजस्तै यो जात्रामा पनि सारी चोलोमा सजिएका महिलाहरुले धान रोप्छन् भने पुरुषको भेषमा महिलाले दाल(मास) तथा भटमास रोपेर पहाडी रोपाँई संस्कृतिलाई दुरुस्तै अभिनय गर्छन् ।

आ–आफ्नै साँस्कृतिक पहिरनमा सजिएका नरनारीले रोपाँईजात्रामा नाचेको नृत्य र गाएको गीतले असार–साउनमा हिलोमा बिताएको कष्टपूर्ण दिनहरुलाई बिर्साएर रमाईलो बनाउने विश्वास गरिन्छ । अघि–अघि पञ्चैवाजा, पछि–पछि हली,रोपाहार र वाउसेले खेतमा रोपाँई गरेको जीवन्त अभिनय हुने रोपाँई जात्रा ताप्लेजुङ,पाँचथर, संखुवासभामा लगायतका क्षेत्रमा पनि मनाइन्छ । रमाइलो सँगै टाढाका आफ्ना साथीसँग भेटघट हुने र रातभरी नाचगान गरी आनन्द लिन पाइने भएकाले यो पर्वमा सहभागी हुने धेरै हुन्छन् । लाखेजात्राको पर्व भएकोले लाखेनाचमा रमाउनेहरु कम भेटिदैनन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts