ताप्लेजुङमा आत्महत्याका घटनामा बर्षेनि बृद्धि,जागरण अभियान चलाउन विज्ञको सल्लाह

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ३ । ताप्लेजुङमा बर्षेनि हुने आत्महत्याका घटना बृद्धिले आत्महत्या बिरुद्ध जागरण र चेतना अभिबृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले राखेको पछिल्ला चार बर्षका अपराधिक घटनाको बिबरण अनुसार आत्महत्याका घटना बर्षेनि बढ्दै गएको देखाउँछ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार आर्थिक बर्ष २०७९।८० मा आत्महत्याका ३८ वटा घटना भएका छन् । ३८ जनाको ज्यान गएको यो घटनामा ३३ जनाले झुण्डिएर,४ जनाले बिष सेवन गरी र १ जनाले पानीमा हाम फालेर आत्महत्या गरेका छन् । आव २०७८।७९ मा ३१ जनाले आत्महत्या गर्दा २९ जनाले झुण्डिएर र २ जनाले बिष सेवन गरी आत्महत्या गरेका थिए । आव २०७७।२०७८ मा २९ जनाले झुण्डिएर,२ जनाले बिष सेवन गरेर आत्महत्या गर्दा पानीमा हामफालेर,हातहतिया तथा औजार प्रयोग गरेर र आफैं आगो लगाएर १–१ जना गरी कूल ३४ जनाले आत्महत्या गरेका थिए । आव २०७६।७७ मा भने २६ जनाले आत्महत्या गरेका थिए । सो आवमा आत्महत्या गर्नेमा झुण्डिएर २३ जना तथा पानीमा हाम फालेर ३ जना रहेका थिए ।
विज्ञहरूका अनुसार युवा तथा किशोर किशोरी, सम्बन्ध विच्छेद गरेर एक्लो जीवन बाँचिरहेका व्यक्तिहरू,तनावयुक्त वैवाहिक जीवनघरबार बिग्रिएर बसेका व्यक्ति,घरेलु तथा लैङ्गिक हिंसा,यौन शोषण,बलात्कार,सामाजिक लाञ्छना आदिमा परेका महिलाहरू प्रेममा असफल व्यक्तिहरू,ठूलो आर्थिक हानी–नोक्सानीमा परेका व्यक्तिहरू,जीवनदेखि हरेस खाएका र आत्मविश्वास गुमाएका व्यक्तिहरू आत्महत्याको बढी जोखिममा हुन्छन् । आत्महत्या गर्ने कारणहरूमध्ये डिप्रेसन रोगलाई प्रमुख कारणको रुपमा लिने गरिन्छ । आत्महत्याको जोखिम बढी भएका व्यक्तिसँग मायालु व्यवहार गर्ने, उनीहरूको मनको कुरा सुनिदिने,काममा सहयोग गरिदिने,आत्महत्याको लक्षण देखिएमा बेवास्ता नगरी घरपरिवारका सदस्य तथा साथीभाइहरूले उपचार प्रक्रियामा सहयोग गनुपर्ने विज्ञहरूले सल्लाह दिएका छन् ।